औद्योगिक वातावरण सुधार स् दिगो अर्थतन्त्रको आधार’ भन्ने नाराका साथ १२ औँ राष्ट्रिय उद्योग दिवस सङ्खुवासभामा पनि मनाइएको छ । दिवसको अवसरमा जिल्लामा उद्यम तथा व्यवसाय सञ्चालन गर्दै आएका ६ जना उद्यमीलाई घरेलु तथा साना उद्योग कार्यालय सङ्खुवासभाले सम्मान गरेको छ ।
उद्यमशीलताको विकास,स्थानीय स्रोतसाधनको उपयोग तथा उत्पादनमूलक व्यवसायलाई प्रोत्साहन गर्ने उद्देश्यले उनीहरूलाई सम्मान गरिएको हो । सम्मानित हुनेहरूमा खाँदबारी नगरपालिका–५ का सुन्दरी गुरुङ, चिचिला गाउँपालिकाका नविन्द्र राई, मादी नगरपालिकाका शिवराज कार्की, चिचिला गाउँपालिकाका ग्याल्जेन शेर्पा, सभापोखरी गाउँपालिकाका तीर्थराज कालाखेती र खाँदबारी नगरपालिका–९ का बिना राई रहेका छन् ।
सुन्दरी गुरुङले झोलुङ्गे बहुउद्देश्यीय कृषि तथा पशुपन्छी फार्ममार्फत कागती, रुद्राक्ष, माछा, कुखुरा, केरा तथा बाख्रापालन व्यवसाय सञ्चालन गर्दै आएकी छन् । त्यसैगरी नविन्द्र राईले कागथला बहुउद्देश्यीय कृषि फार्ममार्फत बाख्रा, माछा तथा अन्य कृषि व्यवसाय सञ्चालन गरिरहेका छन्।
शिवराज कार्कीले नमस्ते नेपाल अगरबत्ती तथा कृषि र पशुपालन फार्म सञ्चालन गर्दै कुखुरापालन, अण्डा तथा माछापालन व्यवसाय गरिरहेका छन् । ग्याल्जेन शेर्पाले मत्स्यपोखरी जडीबुटी उत्पादन केन्द्रमार्फत बेसार,अम्रिसो तथा विभिन्न जडीबुटी उत्पादन गर्दै आएका छन्।
त्यस्तै, तीर्थराज कालाखेतीले सिर्जनशील नमुना बाख्रा व्यवसाय फार्ममार्फत बाख्रापालन तथा भेडापालन व्यवसाय सञ्चालन गर्दै आएका छन् भने बिना राईले अल्लो सुती कपडा उद्योगमार्फत अल्लो कपडाबाट विभिन्न प्रकारका डिजाइनका सामग्री उत्पादन गर्दै आएकी छन् ।
सम्मानित प्रत्येक उद्यमीलाई नगद ५ हजार रुपैयाँ,दोसल्ला र सम्मानपत्र प्रदान गरिएको छ । स्थानीय स्तरमा उपलब्ध स्रोतसाधनको उपयोग गरी कृषि,पशुपालन,जडीबुटी उत्पादन तथा घरेलु उद्योग सञ्चालन गर्दै आएका उद्यमीलाई सम्मान गर्नुले स्थानीय उद्यमशीलता र उत्पादनमूलक अर्थतन्त्रको विकासमा थप प्रोत्साहन पुग्ने अपेक्षा गरिएको घरेलु तथा साना उद्योग कार्यालय सङ्खुवासभाका उद्योग अधिकृत विजय कुमार मगरले बताए ।
