एनएसटीसी बागमतीद्वारा धुलिखेल घोषणापत्र जारी

राष्ट्रिय दिगो तथा पर्यटन क्लब (एनएसटीसी) बागमती प्रदेशले दिगो पर्यटन, वातावरण संरक्षण, स्थानीय गन्तव्य प्रवर्धन र विद्यार्थी नेतृत्व विकासलाई प्राथमिकता दिँदै ११ बुँदे ‘एनएसटीसी धुलिखेल घोषणापत्र २०२६’ जारी गरेको छ।
टुरिजम रिसर्च एण्ड ट्रेनिङ इन्स्टिच्युट (टीआरटीआई) द्वारा असोज १७ र १८ गते धुलिखेलस्थित होटल सारथीमा आयोजित दुई दिने क्षमता अभिवृद्धि कार्यक्रममा बागमती प्रदेशका ७ वटा एनएसटीसी क्लबका मेन्टर, प्रिन्सिपल, शिक्षक तथा विद्यार्थीहरूको सहभागिता थियो।
घोषणापत्रमा विद्यार्थीको सीप र सिर्जनशीलता सुदृढ गर्ने, स्थानीय संस्कृति, सम्पदा र ग्रामीण गन्तव्यको संरक्षण गर्ने तथा सरोकारवालासँग सहकार्य विस्तार गर्ने प्रतिबद्धता जनाइएको छ। साथै क्लबहरूले सामना गरिरहेका समय व्यवस्थापन, समन्वय र स्रोतसाधनका चुनौती सम्बोधन गर्न वित्तीय तथा नीतिगत सहयोगका लागि पहल गरिने उल्लेख छ।
घोषणापत्रले आगामी कार्यदिशाका लागि ‘सुशासन तथा दिगोपन-सक्रिय क्लब’, ‘सीप, नेतृत्व तथा करियर–सिकाइ तथा नेतृत्व’ र ‘दिगोपन तथा कार्य–गन्तव्य तथा समुदाय’ गरी तीन रणनीतिक प्राथमिकता तय गरेको छ। एनएसटीसी क्लबहरूले वार्षिक रूपमा कम्तीमा ६ वटा प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन्।
बागमती प्रदेशका ५० वटा एनएसटीसी क्लबहरूलाई साझा दिशानिर्देश प्रदान गर्दै यो घोषणापत्रले दिगो पर्यटन विकासमा विद्यार्थी र समुदायको सहकार्य तथा व्यावहारिक कार्यान्वयनमा विशेष जोड दिएको छ। कार्यक्रमका सहभागीहरूले घोषणापत्रलाई केवल प्रतिबद्धतामा सीमित नराखी विद्यमान एनएसटीसी क्लबमार्फत व्यवहारमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन्।
विद्यार्थी, शैक्षिक संस्था, स्थानीय समुदाय, पर्यटनक्षेत्र, स्थानीय सरकार तथा विकास साझेदारबीचको सहकार्यबाट दिगो पर्यटन विकासलाई थप प्रभावकारी बनाउन सकिने सहभागीहरूको धारणा थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *