बाढी पीडितलाई सहयोग जुटाउन बेलायतका कार्यबाहक राजदूत सक्रिय

काठमाडौँ जलवायु परिवर्तनका कारण भएको ठानिएको भीषण बाढीबाट पीडित नेपाललाई थप सहयोग गर्न बेलायती सांसदहरूले आग्रह गरेका छन्।
मंगलबार बेलायती संसदमा बसेको नेपालसम्बन्धी सर्वदलीय संसदीय समूह (एपीपीजी फर नेपाल) को बैठकमा बोल्दै समूहकी अध्यक्ष तथा बेलायती सांसद एलेक्स बेकरले नेपाल सरकारका आवश्यकता र प्राथमिकताहरू सम्बोधन गर्न बेलायतले सम्भव भएसम्म थप सहयोग गर्नुपर्नेमा जोड दिइन्। बैठकमा सहभागी अन्य सांसदहरूले पनि बेलायत र नेपालबीचको ऐतिहासिक तथा विशेष सम्बन्धको चर्चा गर्दै नेपाललाई अप्ठ्यारो परेको बेला बेलायतले थप सहयोग गर्नुपर्ने धारणा राखेका थिए।
बैठकमा आमन्त्रित बेलायतका लागि नेपालका कार्यवाहक राजदूत विपिन दुवाडीले बेलायती सांसदहरूलाई नेपालको पछिल्लो अवस्थाबारे जानकारी गराएका थिए। उनले बाढी लगत्तै नेपाललाई ५० लाख पाउन्ड सहयोग गर्ने घोषणा गरेकोमा बेलायती सरकारलाई धन्यवाद दिए।
कार्यवाहक राजदूत दुवाडीले कठिन परिस्थितिमा नेपालप्रति देखाएको ऐक्यबद्धता र सहयोगका लागि बेलायत सरकार तथा बेलायती जनताप्रति आभार व्यक्त गरे। उनले पछिल्लो संकटपछिको वर्तमान अवस्था तथा नेपाल सरकारले सञ्चालन गरिरहेका राहत, उद्धार र पुनर्स्थापनाका प्रयासबारे बैठकलाई विस्तृत जानकारी गराउँदै प्रभावित क्षेत्रको पुनर्निर्माण, पुनर्स्थापना र दीर्घकालीन पुनरुत्थानका लागि थप बेलायती सहयोग अपरिहार्य रहेको बताए।
बैठकमा नेपाल–बेलायत द्विपक्षीय सम्बन्धका अन्य महत्वपूर्ण विषयमा पनि छलफल भएको थियो। विशेषगरी लामो समयदेखि समाधानको प्रतीक्षामा रहेका भूतपूर्व गोर्खा सैनिकका माग तथा सरोकारका विषयसमेत उठाइएको थियो।
बैठकमा बेलायतको विदेश, राष्ट्रमण्डल तथा विकास कार्यालय ९एफसीडीओ० अन्तर्गत इन्डो–प्यासिफिक मामिलामन्त्री ब्यारोनेस विन्टरटनले आफ्नो हालैको नेपाल भ्रमणबारे सांसदहरूलाई जानकारी गराउँदै उनीहरूले उठाएका प्रश्नहरूको जवाफ दिएकी थिइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *