बाढीमा आफन्त हराए, शव भेटियो तर पहिचान हुन सकेन । अब के गर्ने ?
यसका लागि आफन्तले शव भेटिएको ठाउँमै पुग्नुपर्ने छैन, नजिकको जिल्ला प्रहरी कार्यालयमा गएर रगतको नमुना दिए पुग्नेछ । जिल्ला प्रशासन कार्यालय चितवनले भोटेकोशी बाढीमा बगेर पहिचान हुन नसकेका शवको डीएनए परीक्षण र शव व्यवस्थापन सुरु गरिसकेको छ । चितवन आसपास संकलन गरिएका शवमध्ये अधिकांश पहिचान गर्न नसकिने अवस्थामा छन् । सडेर महामारी फैलिने जोखिम भएकाले ‘सम्मानपूर्वक, सुरक्षित र कानुनी रूपमा अन्त्येष्टि’ गर्न थालिएको हो । यसका लागि जिल्ला सुरक्षा समितिले ‘पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन (पहिलो संशोधन) निर्देशिका, २०८३’ बमोजिम त्यस्ता शव जमिनमुनि व्यवस्थापन गर्ने निर्णय गत शनिबार गरेको थियो । चितवन उद्योग संघको आडमा रहेको भरतपुरको पुरानो र खाली सरकारी भवनमा राखिएका शवलाई पोस्टमार्टम लगायतका प्रक्रिया पूरा गरेपछि देवघाट नजिकको जंगलमा जमिनमुनि व्यवस्थापन गर्न थालिएको हो ।
हालसम्म चितवन क्षेत्रमा फेला परेका ३२१ शवमध्ये १२ वटाको सनाखत भएको छ भने २८० वटाको व्यवस्थापन गरिसकिएको छ ।
कसरी दिने डीएनए नमुना ?
बाढीपछि त्रिशूली र नारायणी नदीको चितवनतर्फको किनारमा फेला परेका शव प्रहरीले संकलन गरेर भरतपुरमा राखेको थियो । तिनको तस्बिर खिचेर पहिचान गर्न सकिने अवस्थाका शवका तस्बिर ठूलो टीभी स्क्रिनमा देखाइएको थियो । भोटेकोशी बाढीपछि रसुवामा रहेका आफन्त सम्पर्कमा नआएपछि सल्यानबाट ६ जनाको टोली चितवन आइपुग्यो । टोलीले तस्बिर हेर्यो तर आफन्तको पहिचान गर्न सकेन । फर्कनुअघि सल्यानको टोली डीएनए मिलानका लागि नमुना दिन सोमबार बिहानै चितवन जिल्ला प्रहरी कार्यालयमा पुगेको थियो । डीएनएका लागि आफन्तको रगतको नमुना संकलन गर्नुपर्ने हुन्छ । त्यसका लागि बाआमा हराएको भए छोराछोरी र छोराछोरी हराएको भए बाआमाको रगतको नमुना चाहिन्छ । तर सल्यानको टोलीमा त्यति नजिकका आफन्त थिएनन् ।
तस्बिरमा पनि नदेखिने र बाँकी शव पनि व्यवस्थापन गर्न थालेपछि चार दिन भरतपुरमा बसेको सल्यानको टोली मंगलबार फर्कंदै छ । प्रहरी निरीक्षक सन्देशकुमार पोखरेल डीएनए परीक्षणका लागि नमुना संकलन गर्न जहाँ शव फेला परेको हो, आफन्त त्यहीँ जान नपर्ने बताउँछन् । नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशालाको डीएनए शाखामा १० वर्षदेखि कार्यरत उनी अहिले शव व्यवस्थापनका लागि चितवनमा खटिएका छन् । नेपाली र विदेशीले समेत हराइरहेका आफन्तको खोजीका लागि डीएनए परीक्षणको नमुना दिन चाहेमा नेपाल प्रहरी अस्पताल, काठमाडौंको प्याथोलोजी ल्याब वा नजिकको जिल्ला प्रहरी कार्यालयमा सम्पर्क राख्न प्रहरीले अनुरोध गरेको छ । प्रहरीले विदेशमा रहेका व्यक्तिको हकमा बाबु, आमा, छोरा र छोरीमध्ये कुनै एकजनाको विदेशमै डीएनए परीक्षण गरी मिलानका लागि प्रतिवेदनको सफ्टकपी नेपाल प्रहरीको आधिकारिक इमेलमा पठाउन अनुरोध गरेको छ ।
