सीमास्तम्भबारे नेपाल र भारतबीच छलफल

नेपाल–भारत सीमामा रहेका सीमा स्तम्भहरूको मर्मत सम्भार गर्ने विषयमा नेपाल र भारतीय अधिकारीहरूका बीचमा भएको छलफल सम्पन्न भएको छ ।
पूर्वी नेपालका नेपाल–भारत सीमा स्तम्भहरू कमजोर भएको, नदीको बहावले लडाएकोले समस्या भएपछि ती सीमा स्तम्भहरूको मर्मत सम्भार गर्ने विषयमा दुई देशका अधिकारहरूका बीचमा झापाको बिर्तामोडमा छलफल भएको हो ।
बैठकमा नेपाल–भारत सीमा क्षेत्रमा रहेका विभिन्न विषय, सीमा व्यवस्थापन, समन्वय तथा आपसी सहकार्यका विषयमा छलफल भएको बताइएको छ ।
बैठकमा दुवै देशका अधिकारीहरूले सीमा क्षेत्रमा शान्ति, सुरक्षा तथा मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा प्रतिबद्धता व्यक्त गरेका छन् । नापी विभागको आयोजनामा भएको छलफलमा झापा, इलाम पाँचथर र ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, नापी कार्यालयका प्रमुख, डिभिजन बन कार्यालयका प्रमुखहरूको सहभागिता थियो ।
नापी विभागका वरिष्ठ नापी अधिकृत हरेराम यादवले नेपाल–भारत सीमा सम्बन्धी द्विपक्षीय फिल्ड कार्य अन्तर्गतको फिल्ड सर्भे बैठक सम्पन्न भएको बताए । दुई देशका अधिकारीहरूबीच विभिन्न समयमा दुवै देशमा आलोपालो समीक्षा बैठकहरू हुँदै आएको जनाइएको छ ।
पछिल्लो समय नेपाल भारत सिमाका बिषय चर्चामा रहेको छ । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभाको बैठकमा नेपालले पनि भारतको सीमा मिचेको बताए पछि यसको सर्वत्र विरोध भइरहेको छ ।
दशगजा क्षेत्रमा भइरहेको अतिक्रमणका विषयमा बैठकमा कुरा उठेपछि झापाको कचनकवल–५ पाठा मारीमा नेपाल तर्फ लगाइएको चिया फाँडिएको छ । बैठकपछि सुनकोशी चिया बगानले दशगजामा चिया लगाएको भन्दै नेपाल भारत दुवै तर्फका सुरक्षाकर्मीले चियाको बुटा फाँडेको हो ।
नेपाल तर्फको दशगजा क्षेत्रमा रहेको सुनकोशी चिया बगानले लगाएका करिब ६०–६५ वटा चियाका बोट संयुक्त सीमा गस्तीका क्रममा हटाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *