भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भारतीय जनता पार्टीको मुख्यालयमा भव्य स्वागत गरिएको छ । नयाँ दिल्लीस्थित भाजपाको केन्द्रीय कार्यालयमा सभापति लामिछाने नेतृत्वको नेपाली प्रतिनिधिमण्डल र भाजपाका नेताहरूबीच आपसी हित र राजनीतिक सहकार्यका विविध पक्षमा छलफल भएको छ ।
भाजपाद्वारा जारी विज्ञप्तिअनुसार भाजपालाई जान्नुहोस् (नो बिजेपी) पहलअन्तर्गत भएको उक्त भेटवार्तामा रास्वपा प्रतिनिधिमण्डलले भाजपाका नेताहरूसँग संवाद गरेको हो । भेटका क्रममा भाजपा नेताहरूले भारत र नेपालबीचको गहिरो, ऐतिहासिक र सभ्यतागत सम्बन्धको चर्चा गर्दै साझा सांस्कृतिक विरासत र बलियो जनस्तरको सम्बन्ध नै दुई देशबीचको खम्बा भएको उल्लेख गरे । यस्ता भ्रमण र छलफलले लोकतान्त्रिक संवादलाई थप सुदृढ बनाउने र दुई पार्टीबीचको सम्बन्धलाई अझ प्रगाढ तुल्याउने उनीहरूको विश्वास छ ।
बैठकमा भाजपाको संगठनात्मक यात्रा, वैचारिक दृष्टिकोण, संगठनात्मक संरचना र जनता केन्द्रित राजनीतिक दृष्टिकोणका बारेमा छलफल भएको थियो । रास्वपा प्रतिनिधिमण्डलले भाजपाको सदस्यता वितरण प्रक्रिया, उम्मेदवार चयन प्रणाली र तल्लो तहका कार्यकर्ता पहिचान गरी उनीहरूलाई परिचालन गर्ने संयन्त्रबारे विशेष चासो राखेको थियो ।
जवाफमा भाजपा नेताहरूले पार्टीको सांगठनिक शक्ति निरन्तरको जनसम्पर्क, बुथ तहको सक्रियता र लोकतान्त्रिक प्रक्रियामा सर्वसाधारण नागरिकको व्यापक सहभागिताबाटै निर्माण भएको प्रस्ट पारेका थिए । साथै, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा रहेको विकासमुखी शासन मोडेल, विकास, सेवा, सुशासन र कल्याणकारी योजनाहरूको प्रवाह नै भाजपाको शासन पद्धतिको मुख्य केन्द्रबिन्दु रहेको उनीहरूले बताए ।
छलफलमा दुवै देशका नेताहरूले राजनीतिमा नयाँ पुस्ताको बढ्दो भूमिका र सम्भावनाका बारेमा समेत संवाद गरेका थिए । युवाहरूले लोकतान्त्रिक सहभागिता, सार्वजनिक बहस र भविष्यको नेतृत्व निर्धारणमा खेल्न सक्ने भूमिकाबारे दुवै पक्षबीच कुराकानी भएको छ ।
उक्त महत्त्वपूर्ण बैठकमा भाजपाका तर्फबाट राष्ट्रिय महासचिव अरुण सिंह, सांसद संजय जैसवाल, सांसद बाँसुरी स्वराज र विदेश विभाग प्रमुख डा। विजय चौथाइवालेसहितका नेताहरूको उपस्थिति रहेको थियो । भेटघाटका क्रममा रास्वपाको प्रतिनिधिमण्डलले भाजपा मुख्यालयमा रहेको मिडिया सेन्टर र केन्द्रीय पुस्तकालयको समेत अवलोकन गरेको थियो ।
