हुलाकी राजमार्गका पुल चार लेनको बन्दै

सकारले नेपालगञ्ज–गुलरिया हुलाकी राजमार्गका साँघुरा पुललाई चार लेनमा विस्तार गर्ने भएको छ । यसअघि चार लेनको सडकमा पुल दुई लेनको मात्र भएकाले सडक विस्तारसँगै पुल पनि विस्तार गर्न थालिएको हो । अब चार लेनको सडकसँगै पुल निर्माण भएपछि सवारी आवागमनमा थप सहजता हुने हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगञ्जका प्रमुख लीलाबहादुर भण्डारीले जानकारी दिए । नेपालगञ्ज–गुलरिया सडकअन्तर्गत बाँकेको खजुरा र जानकी गाउँपालिकाको सीमास्थित किरण नाला र बर्दियाको बढैयाताल गाउँपालिकास्थित चपला नालामा चार लेनको पुल निर्माण सुरु भएको छ ।
यो पुल चार करोड ५० लाख रुपैयाँको लागतमा निर्माण सुरु भएको हो । केही वर्षअघि मात्र निर्माण भएको दुई लेन सवारी सञ्चालन हुने पुल साँघुरो भएपछि सोही स्थानमा दुई लेनको अर्को पुल निर्माण सुरु गरिएको छ । पुरानो दुई लेनको पुल यथावत् राखेर नयाँ थप दुई लेनको पुल बनाउन लागिएको छ । आगामी असारभित्रै पुल निर्माण सक्नेगरी काम भइरहेको छ । यसैगरी, बर्दियाको बढैयाताल गाउँपालिकामा पर्ने चपला नालामा रहेको पुल पनि चार लेनको बनाइने भएको छ । नेपालगञ्ज–गुलरिया हुलाकी राजमार्गअन्तर्गत खजुरा गाउँपालिका–३ स्थित पेडारी नालामा चारलेन पुल निर्माण समयावधि अगावै सम्पन्न भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *