नेपाली सेनाले भूतपूर्व सैनिक सम्मेलन गर्ने

नेपाली सेनाले अवकाश प्राप्त सैनिकहरूबीच पुनर्मिलन गराउने भएको छ । करिब ९० भूतपूर्व सैनिकहरूबीच सेनाले पुनर्मिलन गराउन लागेको हो । सेनाले यस्तो पुनर्मिलन कार्यक्रम २०७० सालबाट सुरु गरेको हो । एक पटकको सिपाही, जीवन रहेसम्म सिपाही’ रहने हुँदा अवकाश प्राप्त सैनिकका आश्रित परिवारको शिक्षा र स्वास्थ्यको सुनिश्चितता गर्ने कार्य सैनिक कल्याणकारी कोषले गर्दै आइरहेको छ । हरेक प्रधान सेनापतिको कार्यकालमा एक पटक सञ्चालन गरिने भूतपूर्व सैनिक सम्मेलनलाई वैज्ञानिक र व्यवस्थित बनाउन तीन चरणमा विभाजन गरी प्रत्येक चरणमा योजनाबद्ध तरिकाबाट निश्चित प्रदेशहरूमा कार्यक्रम सञ्चालन गरी तीन वर्षमा समग्र देशभरी कार्यक्रम सञ्चालन हुँदै आइरहेको छ ।

यस वर्ष सञ्चालन हुने भूपू सैनिक सम्मेलनको मूल भाव भूतपूर्व सैनिक सम्मेलनको प्रण–पुनर्मिलन, हिताधिकारीको कल्याण र कोषको दिगोपन रहेको छ । सैनिक व्यक्तिहरूको अवकाशपछिको जीवनमा थप ऊर्जा प्रदान गर्ने, एकापसमा भेटघाट गरी आफ्ना सुख–दुःखका अनुभवहरू साट्ने, बहालवाला सैनिक र अवकाश प्राप्त सैनिकहरूबीच सामीप्यको भावना जागृत गराउने, नेपाली सेनाद्वारा सञ्चालित विविध कल्याणकारी कार्यहरूको जानकारी गराई अझै समयानुकूल सुधारको लागि थप राय सुझावहरू सङ्कलन गरी प्रभावकारी बनाउने उद्देश्यले भूपू सैनिक सम्मेलन आयोजना हुँदै आएको सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेतले बनाए ।

यस किसिमका सम्मेलनमार्फत सेनाप्रति समर्पित भूपू सैनिक तथा एकल महिलाहरूको सञ्जाल निर्माण तथा सोको परिचालन गरी नियमित सेना र भूपू सेनाबीच आपसी हितका लागि सहकार्यको वातावरण सृजना गर्नुका साथै भूपू सैनिक व्यक्तिहरू र प्रधान सेनापतिबीच प्रत्यक्ष अन्तक्र्रिया तथा छलफल गर्न कोसेढुङ्गा सावित भएको छ । यस वर्ष योजना गरिएको भूपू सैनिक सम्मेलनमा लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, मधेस प्रदेश र बागमती प्रदेशका ३३ हजार जनाको उपस्थिति रहने अनुमानसहित चैत महिनाको तेस्रो र चौथो तथा वैशाख महिनाको पहिलो हप्ता गरी चार चरणमा भूपू सञ्चालन गर्न लागिएको छ ।

यसवर्ष मध्यपश्चिम पृतनाअन्तर्गत रूपन्देही, दाङ, प्युठान, रोल्पा, पूर्वरुकुम, पश्चिम रुकुम, सल्यान, कपिलवस्तु, अर्घाखाँची, गुल्मी, पाल्पा, नवलपरासी पश्चिम, नवलपरासी पूर्व तथा पश्चिम पृतनाअन्तर्गत कास्की, म्याग्दी, मुस्ताङ, मनाङ, पर्वत, बाग्लुङ, स्याङ्जा, गोरखा, लमजुङ, तनहुँ र मध्यपूर्वी पृतना अन्तरगत सिन्धुली, रामेछाप, दोलखा, पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा, सप्तरी गरी कूल ३४ जिल्लामा चैत २२ देखि आगामी वैशाख ४ गतेसम्म आयोजना हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *