पर्दामा प्रेमचन्द : ओका ऊरी कथा

दृश्य साहित्य मानिने सिनेमाले संसारभरि नै साहित्यिक रचनालाई आफ्नो स्रोत बनाएको छ। भारतीय सन्दर्भमा रवीन्द्रनाथ टैगोर, शरत चन्द्र चट्टोपाध्याय, प्रेमचन्द, अमृता प्रीतम, आर के नारायण, विभूतिभूषण बन्दोपाध्याय, झुम्पा लाहिरी, चेतन भगतलगायत कैयौँ लेखकका कृतिमा सिनेमा बनेका छन्। साहित्यिक कृतिमा फिल्म बनाउने परम्परा स्वदेशी लेखकमा मात्र सीमित छैन। सेक्सपियर, ओ हेनरी, चार्ल्स डिकेन्स, जेन अस्टिन, एरिक सेगललगायत विदेशी साहित्यकारका सिर्जनासमेतलाई आधार बनाइएका छन्। गान्धीको असहयोग आन्दोलनलाई सहयोग गर्दै सरकारी जागिरसमेत त्यागेका प्रेमचन्द लेखनमार्फत सामाजिक विसंगतिविरुद्ध हस्तक्षेप गर्ने प्रगतिशील लेखक हुन्। त्यसैले उनको लेखन जमिनदारी प्रथा, जातीय विभेद, अनिकाल, धनी र गरिबबीचको खाडल र आर्थिक शोषण, साम्प्रदायिकता, धार्मिक आडम्बरजस्ता सामाजिक-राजनीतिक समस्या वरिपरि केन्द्रित थियो। गरिबको पक्षमा र शासकको विपक्षमा उभिने उनीद्वारा लिखित कहानीमा आधारित सोजे–वतन फिल्मलाई त बेलायती सरकारले प्रतिबन्धसमेत लगाएको थियो। जनताको पक्षमा लेखेकै कारण राज्यले जरिवाना तिराएपछि उनी धनपतरायबाट मुन्सी प्रेमचन्द बनेका हुन्।

‘कफन’ प्रेमचन्दको जीवनको अन्तिम चरणमा प्रकाशित कथा हो। सन् १९७७ मा निर्देशक मृणाल सेन (सन् १९२३–२०१८)ले यही कथामा फिल्म बनाए, ओका ऊरी कथा। तेलुगू भाषाको यो फिल्म साहित्यिक रचनामा बनेको अब्बल सिनेमामध्ये पर्छ।

कथासार— अर्धनग्न अवस्थामा देखिने एक वृद्ध बुवा वेंकैया र जवान छोरा किष्टैय्या जीर्ण भइसकेको एककोठे झुप्रोमा बस्छन्। गरिबीले तन्नम उनीहरू खानै नपाउने स्थितिमा बाहेक श्रम गर्दैनन्। गाउँलेका खेतबारीबाट अन्न र फल चोरेर गुजारा चलाउने उनीहरूको सोच अचम्मको छ– गरिब किसान मजदुरले जति परिश्रम गरे पनि त्यसको फल खाने अन्ततः साहु-महाजन नै हुन्। उनीहरूलाई लाग्छ, यदि उनीहरूले काम गरे भने नाफा जमिनदारकै हातमा जानेछ। सेनले निर्देशक सत्यजीत रेले बंगलाभाषी लेखक विभूतिभूषण बन्दोपाध्यायको कृतिमा आधारित भई निर्देशन गरेको अपराजितो र अपुर संसार, रवीन्द्रनाथ ठाकुरको कृतिमा बनाएको चारुलतालगायत फिल्मले यस्तो समस्या भोग्नुपरेको लेखेका छन्। ‘अपराजितोको आलोचना गर्दै एक वरिष्ठ चलचित्र निर्देशकले आवेगमा लेखेका थिए, विभूषितभूषण मरे, विभूतिभूषण अमर रहून्। त्यसैगरी एक प्रतिष्ठित साप्ताहिक पत्रिकाका फिल्म सम्पादकले अपुर संसारसम्बन्धी केही प्रश्न उठाएका थिए। उनी लेख्छन्, ‘पछि, एक अत्यन्त विद्वान् लेखकले चारुलताबारे बहस सुरु गर्दा बौद्धिक जगत्‌मा ठूलो हलचल मच्चियो। त्यसले व्यापक कटुता जन्मायो, आक्रोश अखबारका स्तम्भ र पत्रिकाका लेखहरूमा पोखियो, छलफल र संवादहरूमा फैलियो र सांस्कृतिक वृत्तसम्म फैलिँदै गयो।’

सेन स्वयं पनि यस्ता आलोचना खेप्ने भुक्तभोगी हुन्। लेख्छन्, ‘म आफैँ पनि यस्तै प्रतिक्रियाको सिकार भएको छु। र, त्यो एकपटक मात्र होइन, प्रायः हरेकपटक, जब म कुनै प्रतिष्ठित साहित्यिक कृतिमा आधारित चलचित्र निर्देशन गर्छु।’

अब्बल साहित्यिक चेत भएका निर्देशकहरू सिनेमामा साहित्यको रूपान्तरण मात्र गर्दैनन्, मूल रचनाको मर्म कायम राख्दै वैचारिक रूपमै पुनर्व्याख्या गर्ने यत्नसमेत गर्छन्। यो वैचारिक पुनर्व्याख्याको प्रक्रियामा न त सबै सफल हुन्छन्, न त उनीहरूको प्रयासलाई सबैले सहजै स्विकार्छन्।

सेन सिनेमालाई साहित्यसँग प्रतिस्पर्धाको विषय नबनाई यी दुईबीच मेलमिलापको भावना आत्मसात् गर्नुपर्ने मत राख्छन्। उनको भनाइ छ, ‘यही एक मात्र उपाय हो जसबाट सिनेमा आफ्नै स्तर र स्वरूप जोगाउँदै अन्य कलाहरूको बीचमा आफ्नो छुट्टै पहिचान निर्माण गर्न सफल हुन्छ।’

उनले ‘कफन’ को कथामा फिल्म बनाउने क्रममा मुख्य तीन पक्षलाई ध्यानमा राखेर पटकथा लेखिएको उल्लेख गरेका छन्। पहिलो, लेखकले कथामार्फत व्यक्त गर्न चाहेको मूल विचारप्रति। दोस्रो, ‘सिनेमा’ नामक कलात्मक अभिव्यक्तिको स्वरूपप्रति। र तेस्रो, वर्तमान समय र युगप्रति।

‘कफन’ पढेका पाठकहरूलाई ओकी ऊरी कथामा पनि निर्देशकले मूलकथाबाट पर लगेको भान हुन सक्छ। फिल्मको अन्तिम दृश्यमा यो स्पष्ट देखिन्छ। प्रेमचन्दले मदिरा पसलमा सकाएको कथा फिल्ममा आइपुग्दा बुवाछोरा रूखमुनि बसेको देखाइन्छ। वेंकैयाले किष्टैय्यालाई पैसाले भरिएको आफ्नो हत्केला जोडले समाउन लगाउँछ। र, छोरालाई भन्छ, ‘हरेक बिहान उठ्दा हाम्रो हातमा यसरी नै पैसा हुने भए…’

त्यसपछि क्लोजअप सटमा वेंकैया चिच्याउँछ– ‘हामीलाई दुई झोला चामल देऊ।’

ओका ऊरी कथाको प्रतिक्रियाबारे पुस्तकमा सेनले प्रेमचन्दका छोरा अमृत राय (जो प्रेमचन्दका जीवनी लेखक पनि हुन्)का प्रतिक्रिया पनि समेटेका छन्। बुवाको कथामा आधारित फिल्म हेरेपछि रायको प्रतिक्रिया थियो, ‘यो अत्यन्तै हृदयविदारक अनुभव र फिल्म हो, तर म तपाईंको व्याख्यासँग पूर्ण रूपमा सहमत छैन।’

जवाफमा सेनले भनेँ, ‘आज तपाईंका पिता जीवित हुनुहुन्थ्यो भने उहाँको प्रतिक्रिया पनि तपाईंको भन्दा फरक नहुन सक्थ्यो।’

सेन रायलाई फेरि सोध्छन्, ‘यस क्षणमा के तपाईं मलाई यो कथामा आधारित भई फिल्म बनाउन दिनुभएकामा पछुतो मानिरहनुभएको छ?’

राय प्रत्युत्तरमा होइन मात्रै भन्दैनन्, बरु बुवाकै अर्को कथामा फिल्म कहिले बनाउनेसमेत सोध्छन्। यही नै सेनको सफलता थियो। र, प्रेमचन्दको पनि।

Leave a Reply

Your email address will not be published. Required fields are marked *