लामो समयदेखि मन्द बनेको पर्यटन उद्योगलाई सक्रिय बनाउन र पर्यटकहरूलाई उत्कृष्ट सेवा दिन उद्देश्यसहित कञ्चनजङ्घा रिजियन हस्पिटालिटी एण्ड टुरिजम डेभलपमेण्ट एसोसिएशन नामक समिति गठन गरिएको छ। सिलगढ़ीको हिलकार्ट रोडस्थित एउटा निजी होटलमा मङ्गलवार आयोजित कार्यक्रममा औपचारिक रूपले यो समिति गठन गरिएको हो।
सन् 2021 को कोभिडपछि उत्तर बङ्गालसहित विभिन्न पर्यटन स्थलहरूको पर्यटन व्यवसाय मन्द बनेको थियो। पर्यटन व्यवसायमा नयाँ गति ल्याउन उत्तर बङ्गाल, सिक्किम, नेपाल र भूटानका होटल तथा विभिन्न पर्यटन व्यवसायीहरूलाई समेटेर यो नयाँ समिति गठन गरिएको हो। प्राप्त जानकारीअनुसार मोठ 62 सदस्यसहित समिति आरम्भ भएको छ जसमा 13 सदस्यीय कार्यकारी समिति पनि रहेको छ।
पर्यटन व्यवसायीहरूको हितको रक्षा गर्दै स्थानीय प्रशासन, राज्य सरकार र केन्द्र सरकारसित निरन्तर सम्पर्क राख्ने, पर्यटकहरूलाई उत्कृष्ट स्तरको सेवा उपलब्ध गराउने, पर्यटन उद्योगसित संलग्न व्यवसायी तथा कर्मचारीहरूका लागि तालिमको व्यवस्था गर्ने अनि पर्यटन स्थलहरूको प्रचार-प्रसार र मार्केटिङमार्फत पर्यटक आकर्षण वृद्धि गर्ने समितिको मुख्य उद्देश्य रहेको छ। उल्लेखनीय छ, यस समितिसित पूर्व भारतीय फूटबल स्टार भाइचुङ भूटिया पनि जोड़िएका छन्। भाइचुङ भूटियाको उपस्थितिले समितिको गतिविधिमा नयाँ आयाम थपिने उद्यमीहरूले अपेक्षा राखेका छन्।
