सिलगढ़ी पुलिसले एक महीनाअघि सिलगढ़ीस्थित विधान ज्वेलरी दोकानबाट लगभग 5 किलो सुन र हिराको गहनासहित 11 करोड़ रुपियाँ बराबरको लुटपाटको घटनामा संलग्न आरोपी भगवानगञ्ज थानाअन्तर्गत दनारा गाउँका मोहम्मद सोहेलका छोरा मोहम्मद इमरानलाई मङ्गलवार राति पटनास्थित एउटा होटलबाट पक्राउ गरेको छ। हाल सिलगढ़ी पुलिसले तिनलाई मसौढ़ी थानामा राखेर सोधपुछ गरिरहेको छ। सोधपुछ सकिएपछि तिनलाई न्यायालयमा प्रस्तुत गरेर ट्राञ्जिट रिमाण्डमा सिलगढ़ी ल्याइने बताइएको छ। लगभग एक महीनाअघि पश्चिम बङ्गालको सिलगढ़ीस्थित ज्वेलरी दोकानमा ग्राहक बनेर पुगेका अपराधीहरूले 11 करोड़ रुपियाँ मूल्य बराबरको गहना लुटेका थिए। उक्त घटनामा दुई महिलासहित आठजना अपराधी संलग्न रहेका प्रकाशमा आएको थियो। तीमध्ये भगवानगञ्ज थाना क्षेत्रको दनाराका मोहम्मद इमरान पनि एकजना आरोपी हुन्। लुटपाटपछि भागेर इमरान पटना पुगेको बताइएको छ।
इमरानको खोजी गर्दै शनिवार सिलगढ़ी पुलिस मसौढ़ी पुगेको थियो र तिनको मोबाइल लोकेशनका आधारमा मसौढ़ी थाना र भगवानगञ्ज थाना क्षेत्रका विभिन्न स्थानहरूमा खोजी गरिएको थियो। तर इमरान पटक–पटक ठेगाना परिवर्तन गर्दै हिँड़िरहेको हुँदा पुलिस तिनलाई पक्राउ गर्न सफल हुन सकेको थिएन। यसैबीच मङ्गलवार सिलगढ़ी पुलिसले इमरानको मोबाइल टावर लोकेशन पटनाको एउटा होटलमा पत्तो लगाएपछि त्यहाँ छापा मारेर तिनलाई पक्राउ गरेको हो। पक्राउपछि सुन र घटनामा प्रयोग भएको आग्नेयास्त्र फेला पार्ने प्रयासमा पुलिसले तिनको दनारा गाउँस्थित घरसम्म लगेर खोजी गरेको थियो।
तर यस क्रममा पुलिसले केही फेला पार्न सकेन। घटनामा प्रयोग भएको आग्नेयास्त्र इमरानले कतै लुकाएर राखेको सिलगढ़ी पुलिसलाई विश्वास छ तर इमरानले त्यसबारे केही बताउन चाहिरहेको छैन। अहिले तिनीसित मसौढ़ौ थानामै सोधपुछ भइरहेको छ। यसअघि उक्त लुटपाटका क्रममा दुईजना अपराधीहरू घटनास्थलबाटै पक्राउ परेका थिए। पछि एक महिलासहित एक अपराधीलाई उत्तर प्रदेशबाट साथै अर्को अपराधीलाई बिहारको दरभङ्गाबाट पक्राउ गरिएको थियो। पुलिसले अपराधीसितै लुटिएको गहना र हतियार फेला पार्न निरन्तर प्रयास गरिरहेको छ।
