अव्यवस्थित रूपमा सञ्चालन भइरहेको ई-रिक्सालाई जनकपुर उपमहानगरपालिकाले व्यवस्थित बनाउने भएको छ।
उपमहानगरमा तथा यातायात कार्यालयमा पनि दर्ता भएका ई-रिक्साहरु नगर क्षेत्रभित्रै चल्न थालेपछि घण्टौँको जाम हुने अवस्था छ। ई-रिक्साको अत्याधिक चापसँगै नगरको ट्राफिक व्यवस्थापनसमेत अस्तव्यस्त देखिएको छ। अझ ई-रिक्साको पार्किङजस्ता समस्याले नगर क्षेत्र अस्तव्यस्त देखिएको जनकपुर ३ का रञ्जित साह बताउँछन्। नगरमा अत्याधिक ई-रिक्सा गुड्ने गरेको कारण कतिपय ठाउँमा घण्टौंसम्म जाम लाग्ने गरेको छ। विशेषगरी रामचोक‚ बसपार्क तथा रामानन्द चोक क्षेत्रमा सर्वसाधारणले निकै सास्ती भोग्नुपरेको साहको भनाइ छ। सवारीसाधनको चापको कारणले सडक साँघुरो भएको छ।
ई–रिक्सा चालकहरूका अनुसार जनकपुरमा झन्डै १४ देखि १५ हजार ई-रिक्सा सञ्चालनमा छन्। उपमहानगरपालिकामा त दुई हजार ई-रिक्सा मात्रै दर्ता छन्। यातायात व्यवस्था कार्यालय जनकपुरमा पनि दुई हजार ई-रिक्सा दर्ता छन्। यसरी दुई कार्यालयमा गरी चार हजार ई-रिक्सा मात्रै दर्ता छन्। बाँकी रिक्सा दर्ताबिनै वा अन्तै दर्ता भएका हुन्।
नगरमा ई-रिक्साको चाप बढेपछि उपमहानगरपालिकाले नयाँ दर्ता बन्द गरेको छ। नगरमा सवारी चाप बढेको भन्दै उपमहानगरपालिकाले आज (आइतबार) देखि बाहिरबाट आएका ई-रिक्सा सञ्चालनमा रोक लगाउने अभियानको आरम्भ गरेको छ। उपमहानगरले विभिन्न चोकमा माइकिङ गरेरै यसको जानकारी गराइरहेको छ। यसलाई अटेर गरे जरिवानासहित कारबाही गरिने चेतावनी पनि दिइएको छ। जिल्ला ट्रफिक प्रहरी कार्यालय प्रहरी निरीक्षक शाहीले ई-रिक्सा दर्ता र सञ्चालनको अधिकार स्थानीय तहलाई दिइएको छ तर यातायातमा समेत दर्ता भएपछि उनीहरु नगर क्षेत्रमा सञ्चालन हुँदा व्यवस्थापनमा चुनौती थपिएको बताउँछन्।
उपमहानगर प्रमुख (मेयर) मनोजकुमार साहले जनकपुरधामको हरेक चोकमा ट्राफिक प्रहरीको समन्वयमा अभियान सञ्चालन भइरहेको जानकारी दिए। “अहिले नगर क्षेत्रमा दर्ता भएकालाई मात्रै सञ्चालन गर्न आग्रह गरिएको छ‚” उनले भने‚ “यसमा अटेर गरे कडा कारबाही गरिनेछ।” उनले नगर क्षेत्रमा जथाभावी रिक्सा सञ्चालन हुँदा समस्या थपिँदै गएको र यसलाई व्यवस्थित बनाउने अभियानमा जुटेको जानकारी दिए।
