कुनै जानकारी खोज्न आजभोलि गुगल गर्नु हाम्रो बानी बनिसकेको छ। कुनै अपरिचित स्थानमा जाँदा मार्ग जान्न पनि हामी यसैमाथि निर्भर बन्छौँ। गुगल म्यापको भर परेर गलत बाटो लागेका घटनाहरू पहिले पनि भइसकेका छन्। लगभग डेढ़ महीनाअघि उत्तर प्रदेशमा गुगलको भरमा विवाहमा जाँदा नदीमा गाड़ी खसेर तीनजनाको मृत्यु भएक थियो। गुगल म्यापमाथि भरोसा गर्दा हुने समस्याहरूको सूचीमा अब सिलगढ़ी पनि सामेल भएको छ।
नयाँ वर्षको पहिलो दिन सिलगढ़ी पुलिस थानाअघि यस्तो घटना भएको हो। स्थानीय र पुलिस सूत्रअनुसार कुहिरोले ढाकिएको बुधवार बिहान एउटा बाँस बोकेको ट्रक स्टेशन फिडरबाट फ्लाईओभरतर्फ जान अघि बढ़िरहेको थियो। सिलगढ़ी पुलिस थानानजिक पुग्न साथ केबल र बिजुलीका तारहरूमा ट्रक अड़कियो। यस क्रममा ट्राफिक सिग्नलको पोल भाँचिएर पुलिसको मोबाइल भ्यानमाथि खस्यो। यसले गर्दा भ्यानको अगाड़िको ऐना फुट्यो। पुलिस कर्मीहरू तुरुन्त घटनास्थलमा पुगे। तिनीहरूले भने, कसैलाई चोटपटक नलाग्नु नै भाग्यको कुरो हो। ट्रक फ्लाईओभरमा पुगेको भए अझ ठूलो दुर्घटना हुन सक्थ्यो।
घटनापछि बिहान पुलिस थानाअघि ट्राफिक सिग्नलको पोल भाँचिएर सड़कमा खसेको देखियो। पुलिसको मोबाइल भ्यानको ऐना फुटेको थियो र भित्र ऐनाका टुक्राहरू छरिएका थिए। घटनाबारे सोध्दा एकजना पुलिस कर्मीले भने, बाँस बोकेको ट्रक शहरमा प्रवेश गर्दा तारमा बाँस अड़कियो। कुहिरोको कारण चालकले बुझ्न सकेनन्। सबै तारहरू चुँड़िएका छन्। हाम्रो गाड़ी पनि क्षतिग्रस्त भयो। छेउमै रहेका ट्रक चालकले भने, यो बाटो भएर बाइपास जान सकिन्छ भनेर गुगल म्यापले नै देखाएको थियो। कसरी बुझ्न सक्थेँ कि म शहरको सड़कमा आइपुगेँ?
पुलिस सूत्रअनुसार, पश्चिम बर्धमानको कुल्टीबाट बाँस बोकेर ट्रक इष्टर्न बाइपासतर्फ गइरहेको थियो। तर समस्या नौकाघाट मोड़मा भयो। ट्रक चालकको दाबीअनुसार, नौकाघाट मोड़मा आएपछि गुगल म्यापको निर्देशनअनुसार तिनी स्टेशन फिडर रोडतर्फ लागे। त्यसपछि फ्लाईओभर चढ्न अघि बढ़े। पुलिस थानानजिक पुगेपछि बाँस तारमा अड़कियो र एकपछि अर्को तार चुँड़िन थाल्यो। ट्रक चालकलाई सिलगढ़ी पुलिस थानाले नियन्त्रणमा लिएको छ। गुगल म्यापको कारण भएको समस्याबारे दिनभरि थानामा चर्चा चलिरह्यो।
