चिनियाँ अवरोधले अलपत्र तातोपानी नाकाको व्यापार

गत २४ असारमा बाढीले गरेको क्षतिका कारण रसुवागढी नाका बन्द भएपछि नेपाली व्यापारीहरूले तातोपानी नाका हुँदै सामान आयात गरिरहेका छन्। तर, चिनियाँ पक्षले नेपाली मालवाहक कन्टेनर प्रशस्त नछाड्दा तातोपानी नाकाबाट हुँदै आएको व्यापार प्रभावित भएको छ।

केही समययता चिनियाँ पक्षले प्रशस्त मात्रामा कन्टेनर नछाड्दा नेपाली व्यवसायीहरूले खरिद गरेर ल्याएका सामान खासा क्षेत्रमै अलपत्र परेको नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष रामहरि कार्की बताउँछन्। चिनियाँहरूले धमाधम कन्टेनर नछोड्दा एक महिनायता तातोपानी नाका हुँदै सामान ल्याउन असहज भएको उनको भनाइ छ। “खासादेखि न्यालमसम्मको बाटोमा सामान लोड भएका करिब ५०० वटा कन्टेनरको लाइन लागेको छ,” कार्की भन्छन्, “चिनियाँ पक्षले दैनिक पाँचदेखि १५ वटासम्म कन्टेनर मात्र छाडिरहेको छ, कहिले त दुईतीन वटा मात्रै छाडेर बन्द गरिदिन्छ।” यसअघि सामान्य अवस्थामा दैनिक ३५/४० वटा मालवाहक कन्टेनर तातोपानी नाका आइपुग्थे।

चिनियाँ पक्षले खासामा पूर्वाधार निर्माणको काम भइरहेको भनेर पर्याप्त मात्रामा कन्टेनर पास हुन नदिएको व्यवसायीहरू बताउँछन्। २०७२ सालको भूकम्पमा खासादेखि न्यालमसम्मका संरचना भत्किएपछि तातोपानी नाकाबाट हुने नेपाल-चीन व्यापार प्रभावित हुँदै आएको थियो। अहिले चीन सरकारले खासामा सबै पुराना संरचना हटाएर नयाँ बनाइरहेको छ। सडक विस्तारको काम पनि भइरहेको छ। ती पूर्वाधार निर्माणको काम भइरहँदा कन्टेनर रोक्नैपर्ने अवस्था नरहे पनि चिनियाँ पक्षले यसो गर्नुको कारण बुझ्न नसकिएको कार्की बताउँछन्।

वर्षा याममा बाढीले बाटो बगाउँदा लामो समय तातोपानी नाकाको व्यापार प्रभावित भएको थियो। त्यसबेला पनि कन्टेनरहरू रोकिँदा फलफूल कुहिएर फाल्नुपरेको व्यवसायीहरूले बताएका थिए। अहिले पनि सिजनका सामान नेपाली बजारमा ल्याउन नसकिएको नेपाल हिमालय सीमापार वाणिज्य संघका पूर्वअध्यक्ष अशोक श्रेष्ठ बताउँछन्। “जाडोका लागि ल्याइएका लत्ताकपडा बाटोमै अलपत्र परेका छन्। सिजनमा ल्याउनुपर्ने फलफूल बाटोमै कुहिने अवस्था छ,” उनी भन्छन्। सामान लोड भएका कन्टेनर चाँडै पठाउने वातावरण बनाउन चिनियाँहरूले विद्युतीय गाडी आइतबार र बुधबार मात्रै पठाउने प्रस्ताव गरेका छन्। तातोपानी भन्सार कार्यालयले भने आइतबार र बुधबारको सट्टा शनिबार विद्युतीय गाडी पठाउन भनेको छ। तर, यो विषय चिनियाँ भन्सार कार्यालयले मात्रै निर्णय गर्न नसक्ने भएकाले नेपाली पक्षको प्रस्ताव कार्यान्वयन हुने/नहुने टुंगो छैन। चुडाल भन्छन्, “हामीले गरेको प्रस्तावबारे चिनियाँ भन्सार कार्यालयले मात्रै निर्णय दिन नसक्ने रहेछ, त्यहाँको माथिल्लो निकायले निर्णय गरेपछि मात्रै कार्यान्वयन हुन्छ। उनीहरू सबै कुरा स्पष्ट रूपमा खुलेर भन्दा पनि भन्दैनन्।”

चिनियाँ पक्षले कन्टेनर प्रशस्त मात्रामा नपठाउँदा तातोपानी भन्सार कार्यालयको राजस्व संकलन लक्ष्य नै प्रभावित भएको छ। चालु आर्थिक वर्षको ६ महिना पूरा हुन लाग्दा लक्ष्यको करिब २६ प्रतिशत मात्रै राजस्व संकलन भएको प्रमुख भन्सार अधिकृत चुडाल बताउँछन्। “अहिलेसम्म २४ अर्ब ४७ करोड राजस्व संकलन गर्ने लक्ष्य थियो, तर ६ अर्ब ४२ करोड रुपैयाँ मात्रै राजस्व संकलन भएको छ,” उनी भन्छन्, “पुस महिनामा संकलन गर्नुपर्ने कुल राजस्वमध्ये ५४ प्रतिशत मात्रै संकलन भएको छ।” खुल्दै रसुवागढी नाका

बाढीले नेपाल-चीन जोड्ने मितेरी पुल बगाएपछि ६ महिनायता अवरुद्ध रसुवागढी नाका १ जनवरीबाट खुल्ने भएको छ। चिनियाँ दूतावासले परराष्ट्र मन्त्रालयमार्फत अर्थ र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई आगामी १ जनवरीबाट रसुवागढी नाका सञ्चालन हुने जानकारी गराएको छ। भन्सार विभागका निर्देशक किशोर बर्तौला भन्छन्, “चिनियाँ दूतावासले परराष्ट्र मन्त्रालयमार्फत अर्थ र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई आगामी १ जनवरीबाट रसुवागढी नाका सञ्चालन हुने जानकारीसहितको कूटनीतिक नोट पठाएको रहेछ। १३ पुसबाट रसुवाका बासिन्दालाई रसुवागढीबाट केरुङ जान दिइएको छ।”

रसुवागढी नाका सञ्चालनमा ल्याउने तयारीबारे रसुवाका प्रमुख जिल्ला अधिकारी राजेन्द्र पन्थी भन्छन्, “केरुङमा सवारीसाधन भएका सवारी चालक र मेसमा काम गर्ने कर्मचारी १३ पुसबाट केरुङ जान थालेका छन्। १ जनवरीबाट नाका सञ्चालन गर्ने गरी तयारी भएको छ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *