एजेन्सी: वर्ल्डलिंक कम्युनिकेशन लिमिटेडले इन्टरनेशनल इन्टरनेट व्यान्डविथ खरिदबापत विगत ११ वर्षमा करिब ११ अर्ब रकम हङकङ पठाएको पाइएको छ । हङकङमा रहेको १ डलर पुँजी भएको इटरप्टस लिमिटेड (Interaptus Limited) नामको कम्पनीमा वर्ल्डलिंकले पठाएको रकम कागजी रुपमा मिलाइए पनि वास्तविकतामा पुँजी पलायन हो ।
नेपाल दूरसञ्चार प्राधिकरणबाट इन्टरनेट सेवा प्रदायक तथा नेटवर्क सेवा प्रदायकको अनुमतिपत्र प्राप्त संस्था वर्ल्डलिंकले ११ अर्ब रुपैयाँ हङकङको एक डलर कम्पनीमार्फत मनी फ्लाइ गरिसकेको र थप ४ अर्ब रुपैयाँ सोही बाटोबाट पठाउन प्राधिकरणमा लबिङ गरिरहेको छ ।
हङकङको १ डलर कम्पनीमार्फत सो रकम ब्रिटिश भर्जिन आइल्यान्ड पुग्ने र त्यहाँबाट सम्पत्ति शुद्धीकरणका लागि विभिन्न देशमा लगानी हुने गरेको छ । दूरसञ्चार प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले हङकङमा वर्ल्डलिंकले पैसा पठाउने गरेको स्वीकारे, तर उनले ब्यान्डविथ नै उसले हङकङबाट ल्याएको कागजात पेश गरेको बताए ।
पौडेलले भने, ‘हङकङमा उसको कम्पनी कति डलरमा दर्ता भएको हो, त्यो हामीलाई थाहा हुने कुरा भएन । वर्ल्डलिंकले इन्टरनेशनल इन्टरनेट व्यान्डविथ हङकङबाट ल्याइएका कागजातहरु पेश गरेको छ । नोटरी गरिएको कागजातका आधारमा हामीले अनुमति दिने हो ।’
वर्ल्डलिंकले बैशाख २०८० देखि हालसम्मको अवधिको लागि करिब ४ अर्ब रुपैयाँ थप रकम हङकङमा रहेको एक डलर कम्पनी इटरप्टस लिमिटेडमा पठाउने प्रक्रिया पुनः थालेको छ । वर्ल्डलिंकका प्रतिनिधि हाल दिनहुँजसो प्राधिकरणमा लबिङ गर्न पुगिरहेका छन् ।