नेपालमा लगानी गर्न राष्ट्रपतिको आग्रह

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा लगानीको अपार सम्भावना भएको बताएका छन् । उनले नेपाला लगानीको सम्भावनाको सदुपयोग गर्न र आफू बसोबास गरेको देशमा रहेका लगानीकर्ताहरूलाइ नेपालमा लगानी गर्न आग्रह गरेका हुन् । गैर आवासीय नेपाली संघका नवनिर्वाचित पदाधिकारीहरूसँग सोमबार राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा राष्ट्रपति पौडेलले भने, ‘नेपालको आन्तरिक क्षमतामा वृद्धि गरी तीव्र आर्थिक विकास गर्न सके मात्र विदेशमा बस्ने नेपालीहरूको शिर पनि उँचो हुनेछ ।’ नेपाललाई सुशासन विकास र समृद्धितर्फ लैजान तथा देशको अन्तराष्ट्रिय जगतमा प्रतिष्ठा बढाउन एनआरएहरूले अझ प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने उनले बताए । नेपालमा जलविद्युत्, पर्यटन, कृषि, पूवार्धार, सूचना तथा सञ्चार, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा लगानीको ठूलो सम्भावना रहेको राष्ट्रपति पौडेलले उल्लेख गरे ।

अर्कातर्फ भारत र चीनजस्ता विश्वकै ठूलो जनसंख्या र बृहत् बजारहरू हाम्रा समीप र पहुँचमा छन् । यस्तो अवस्थामा नेपाल आर्थिक विकासका लागि चाहिने पूर्वाधार, औद्योगिकिकरण र आन्तरिक उत्पादनलगायतको विकासमा केन्द्रित हुनुपर्दछ भन्ने आफूलाई लागेको छ’, उनले भने । भर्खरै सम्पन्न प्रतिनिधिसभाको निर्वाचनबाट देशको विषम र जटिल परिस्थितिले एउटा निकास पाएको उल्लेख राष्ट्रपतिले गरे । ‘नेपाली जनता र खासगरी युवा पुस्ताको चाहनाबमोजिम अब मुलुकमा सुशासनको माध्यमबाट सामाजिक न्यायसहितको विकास र समृद्धितर्फ अग्रसर हुन जनताले मतादेश दिएका छन्’, उनले भने । त्यस अवसरमा संघका नवनिर्वाचित अध्यक्ष डा हेमराज शर्माले संघका गतिविधि र भावी योजनाबारे प्रकाश पारेका थिए । यस्तै नेपालमा एनआरएनएले गरिरहेको लगानी, थप लगानीको सम्भावना, दोस्रो पुस्तालाई जोड्ने रणनीति लगायतका विषयमा प्रकाश पारेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *