तीन नेताका घरमा जलेको भनिएका नोटको अनुसन्धान, सम्पत्ति शुद्धीकरणले उठायो घटना मुचुल्का

एजेन्सी: जेनजी आन्दोलनका क्रममा नेताहरूको घर जलाउँदा भेटिएका भनिएका नोटहरूको अनुसन्धान गरेर मुचुल्का उठाइएको छ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र तत्कालीन ऊर्जामन्त्री दिपक खड्काको निवासमा जलेका भनिएका नोट र जलेको घरको मुचुल्का उठाएर अनुसन्धान थालेको हो ।

विभागलाई सरकारले हालै मात्र प्रधानमन्त्री मातहतबाट अर्थ मन्त्रालय मातहत ल्याएको छ । सम्पत्ति शुद्धीकरण विभागको टोलीले मंगलबार प्रचण्डको तत्कालीन निवास खुमलटार पुगेर जलेका भनिएका नोट र घटनास्थलको विवरण संकलन गरी मुचुल्का तयार पारेको थियो ।

सामाजिक सञ्जालमा भाइरल भइरहेका भिडिओमा प्रचण्ड निवासमा नोट जलेको भनेर देखाइएको घटनास्थलको हो कि होइन भनेर विभागले मुचुल्का उठाएको छ । आगजनीपछि घरमा राखिएको भनिएको रकम जलेको अवस्थामा देखिने भिडियो र तस्बिरहरू सार्वजनिक भएका थिए।

ती भिडिओहरू समेत विभागले अनुसन्धानका लागि फरेन्सिक ल्याबमा पठाउने भएको छ । कतिपय विदेशमा जलेका नोटका भिडिओ समेत भाइरल भइरहेकाले वास्तविकता परीक्षणपछि मात्र थाहा हुने विभागले जनाएको छ ।

यसअघि विभागले देउवा र खड्का निवासको पनि घटना मुचुल्का तयार पारेको थियो । यदि ती रकम जलेको पुष्टि भएमा त्यसको स्रोत, कानूनी अवस्था र सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दा अनुसन्धानमा अघि बढ्नेछ । धेरैजसो नोट जलिसकेका र जलेका नोटका समेत केही मात्र भेटिएका र धेरै रकम लुटपाट भइसकेको अनुमान छ ।

अहिले प्रचण्ड र देउवा निवासमा प्रवेश रोक लगाइएको छ । विभागको टोलीले देउवा र खड्काको जलेको घरमा पुगेर घटना मुचुल्का कागज खडा गरी अनुसन्धान अघि बढाएको थियो । टोलीले दुवै घरबाट जलेका नोटका केही टुक्रा र वरपरबाट खरानी संकलन गरेको थियो भने केही जलेका नोट लगेका व्यक्तिहरूले पनि अनुसन्धानमा सघाउन भन्दै प्रहरीलाई बुझाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *