मञ्जा खोलामा स्टील ब्रिजको पहल

गत 20 अगस्तको दिन तराईको मञ्जानजिक रहेको कटहरेदेखि लोहागढ़, पुटुङ लगायत अन्य क्षेत्रहरूलाई जोड्ने मञ्जा खोलाको पुललाई स्टील ब्रिजमा परिणत गर्ने दार्जीलिङका सांसद राजु विष्टले पत्र सार्वजनिक गरेपछि लोहागढ़ साथै तराईको मानिसहरूले राहतको सास लिएका छन्। तर कटहरेदेखि लोहागढ़ हुनुपर्ने बताउँदै मञ्जादेखि लोहागढ़-पुटुङ भएकोमा मानिसहरूले खेद पनि प्रकट गरेका छन्। केही महीनाअघि सांसद राजु विष्टको निर्देशनमा इञ्जिनियर टोली आएर भत्किएको पुलको निरीक्षण गरेको थियो। उक्त पुलको नामजोख पनि गरिएको थियो।

अहिले सांसद विष्टले स्टील ब्रिज निर्माणको पहल गरिरहेका जान्नमा आएको छ।मञ्जा खोलाको पुल अब मजबुत हुने विषयमा स्थानीय मानिसहरू आशावादी छन्। उक्त ठाउँमा स्टील ब्रिज केन्द्र सरकारको कोषबाट निर्माण हुने चर्चा चुलिएको छ। स्मरण रहोस्, 2003 को 8 जुलाई मुसलधारे वर्षाको कारणले मञ्जा खोलाको जलस्तर बढ़ेर मञ्जा छेउ रहेको कटहरे अनि लोहागढ़माझको पुल भत्किएको थियो। पुल भत्किएको कारण उक्त क्षेत्रमा गाड़ी नचल्ने भएपछि मानिसहरूलाई आवतजावत गर्न धेरै समस्या भइरहेको थियो।

पुल निर्माणबारे तराईवासीले कुनै ग्राम पञ्चायतदेखि लिएर पञ्चायत समिति, क्षेत्रीय सभासद, विधायक साथै जीटीएलाई पनि गुहार लगाउँदै आइरहेका थिए।गत वर्ष लोकसभा चुनाउमा राजु विष्टले पनि चुनाउको प्रचार प्रसार अभियानमा लोहागढ़ साथै तराई क्षेत्रको भ्रमण गरेका थिए। विष्टले त्यो समय मञ्जा खोलाको उक्त पुललाई पनि हेरेका स्थानीय मानिसहरूको भनाइ छ। अब यो पुल निमार्ण भए मानिसहरूले भोग्दै आइरहेका समस्या समाधान हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *