सिलगढ़ीमा पनि भुस्याहा कुकुरहरूको आतङ्क

राजधानी दिल्लीसहित विभिन्न आवासीय इलाकालाई भुस्याहा कुकुरमुक्त गर्ने सर्वोच्च न्यायालयको आदेश अहिले स्थगित गरिएको छ। उक्त आदेशको विरोधमा केही दिनदेखि सिलगढ़ीमा धेरै पशुप्रेमी सङ्गठनहरू सड़कमा उत्रिएका छन्। यस विवादबीच सिलगढ़ी जिल्ला अस्पताल सूत्रले दिएको जानकारीअनुसार पछिल्ला तीन महीनामा सिलगढ़ीमा कुकुरले टोकेर 5311 जना मानिसहरू घाइते भएका छन्। अस्पताल सूत्रअनुसार पीड़ितहरूमध्ये सिलगढ़ी महानगर पालिकासहित वरिपरिका ग्रामीण इलाकाका वासिन्दाहरू पनि रहेका छन्।

तथ्याङ्कअनुसार औसत महीनामा 1550 भन्दा अधिक मानिस कुकुरको आक्रमणबाट घाइते भएका छन्। शहरवासीहरूअनुसार थोरै घटनाबाहेक अधिकांश मानिस भुस्याहा कुकुरकै आक्रमणबाट घाइते भएका हुन्। शहरमा भुस्याहा कुकुरको बन्ध्याकरण (नसबन्दी) प्रक्रिया रोकिएकै कारण कुकुरको सङ्ख्या बढेको आरोप छ। यससितै कुकुरले टोकेर घाइते हुने घटनाको सङ्ख्या पनि निकै बढ़ेको छ। भुस्याहा कुकुरको आक्रमणबाट मानिसलाई राहत दिने विषयमा लगभग एक वर्षअघि नै सिलगढ़ी महानगरपालिकाले घोषणा गरेको थियो। त्यस घोषणाअनुसार केही दिनअघि महानगरपालिकाले इष्टर्न बाइपास क्षेत्रमा एउटा पशु अस्पताल निर्माण गरेको छ। तर त्यहाँ अझै पूर्ण पूर्वाधार तयार हुन सकेको छैन।सिलगढ़ीका मेयर गौतम देवले भने, केवल केही दिनअघि अस्पताल तयार भएको हो। अझै स्थायी डाक्टर नियुक्त भएका छैन। हाल कालेबुङ जिल्लाको जिम्मावारीमा रहेका एकजना डाक्टरलाई यहाँ बस्ने जिम्मावारी दिइएको छ। तर लगातार पैह्रोका कारण सड़क अवरुद्ध भएकाले तिनी आउन सकेका छैनन्। थप जानकारीअनुसार अहिले उक्त कालेबुङका डाक्टर महीनामा एक दिन सिलगढ़ीको यस नयाँ पशु अस्पतालमा बस्ने तय भएको छ। मेयर परिषद सदस्य सिक्ता दे बसु रायले भने, यस अस्पतालबाट भुस्याहा कुकुरहरूको नसबन्दी गरिनेछ। साथै सबै किसिमका पशुपक्षीको यहाँ उपचार गरिनेछ। यसका लागि चर्च रोडस्थित सिलगढ़ी पशु अस्पतालका चिकित्सक र एनिमल रिसर्च डेभलपमेण्टसिल सल्लाह लिइनेछ।
तर भुस्याहा कुकुरको नसबन्दी प्रक्रिया कहिलेदेखि आरम्भ हुन्छ भन्ने प्रश्नको उत्तर अझै खुलेको छैन। पशुप्रेमी मौसमी पालले भनिन्, सडकमा हिँड्दा कुनै हालतमा भुस्याहा कुकुर देखेर भाग्नु हुँदैन। छिटो दौड़न खोज्दा वा अस्वाभाविक व्यवहार गर्दा तिनीहरूले असुरक्षित अनुभव गरेर आक्रमण गर्न सक्छन्। प्रशासनले सही समयमा भुस्याहा कुकुरलाई खोप दिनु आवश्यक छ। सड़कमा कुकुर नभए चोरी–लुटपाट बढ्ने सम्भावना हुने मौसमी भन्छिन्। सूर्यसेन कोलोनीका वासिन्दा रजत सरकारले भने, सड़कका सबै कुकुरलाई हटाउनुपर्छ भन्ने होइन। तर सबै भुस्याहा कुकुरलाई खोप दिनु र नसबन्दी प्रक्रिया नियमित चलाउनु जरुरी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *