सेभोकबाट रम्फूतर्फ ट्रेन कहिले चल्ने भन्ने विषय अझै निश्चित छैन। तर सेभोकले शीघ्रै नयाँ ट्रेन पाउनेछ। त्यस ट्रेनमार्फत देशको राजधानी नयाँ दिल्लीसित सोझै सम्पर्क स्थापित हुनेछ। सेभोक-रम्फू रेल परियोजनाको विषय ध्यानमा राख्दै पूर्वोत्तर सीमान्त रेलवेले नयाँ ट्रेनको योजना बनाएको छ। प्रारम्भिक रूपमा ट्रेन सेभोकबाट चल्नेछ। तर भविष्यमा यस ट्रेनलाई रम्फूसम्म पनि पुर्यााउने योजना छ। पूर्वोत्तर सीमान्त रेलवेको तर्फबाट पठाइएको प्रस्तावमा नयाँ हाइस्पीड ट्रेनको उल्लेख छ साथै न्यू जलपाइगढ़ी जङ्शन-आनन्दबिहार टर्मिनलबीच चल्ने सुपरफास्ट एक्सप्रेसलाई सेभोकसम्म पुर्यााउने योजना छ। सूत्रअनुसार, सेभोक-आनन्दबिहार ट्रेनको सन्दर्भमा रेल बोर्डले हरियो झण्डा देखाइसकेको छ। तर कुन प्रकारको ट्रेन चल्ने र कहिले आरम्भ गरिने विषय भने अझै पक्का भएको छैन। समय र स्टपेजबारे पनि निर्धारण भएको छैन। पूर्वोत्तर सीमान्त रेलवेका एकजना अधिकारीले भने, रेल बोर्डको अनुमति पाएपछि सेभोक-नयाँ दिल्ली ट्रेन सेवाको आरम्भ गर्न धेरै समय लाग्ने छैन। भविष्यलाई ध्यानमा राखेर यस्तो निर्णय गरिएको हो।
सिक्किमलाई रेल चित्रमा समेट्ने प्रयास केही वर्षअघि आरम्भ गरिएको थियो। तर प्राकृतिक प्रकोपसितै राष्ट्रिय राजमार्ग 10 लगातार बन्द भएको कारण पहाड़ी मार्गको रेल परियोजनाको कार्यमा कति समय लाग्ने त्यो अझै अनिश्चित छ। आगामी वर्ष 15 अगस्तमा सेभोक-रम्फू रेल परियोजनामा पहिलो ट्रेन चलाउने योजना छ। तर त्यो अहिले सम्भव नहुने इण्डियन रेलवे कन्स्ट्रक्शन इण्टरनेशनल लिमिटेड (इरकोन) ले स्पष्ट गरिसकेको छ। आगामी दिसम्बरमा नयाँ लक्ष्य राखिएको छ। दिसम्बरअघि रम्फूसम्म ट्रेन चल्न नसके पनि सेभोकदेखि टिस्टा बजारसम्म ट्रेन चलाउन सकिने सम्भावनाबारे पनि छलफल भइरहेको छ।इरकोन सूत्रहरूअनुसार, यस मार्गमा रेल लाइन बिछ्याउने काम लगभग अन्तिम चरणमा पुगेको छ। पुल र स्टेशनका केही कामहरू भइरहेको छ। सेभोक-टिस्टा बजारमाझ ट्रेन सञ्चालनअघि सेभोक र नयाँ दिल्लीको आनन्दबिहार टर्मिनलबीच ट्रेन चलाउने पहल आरम्भ भइसकेको छ। रेलको सूत्रअनुसार नयाँ ट्रेन सञ्चालनका लागि 25 दिसम्बर र 1 जनवरीको दिन दुई सम्भावित ट्रेनलाई प्रारम्भिक रूपमा चयन गरिएको छ।
मुख्यत: सिक्किमका वासिन्दाहरूका लागि यो ट्रेन आरम्भ गरिने भए पनि सेभोकबाट छुट्ने हुँदा त्यस क्षेत्रमा रहने अन्य वासिन्दाहरूले पनि लाभ लिन सक्नेछन्। सेभोकदेखि कोलकातातर्फ कुनै ट्रेन चलाउन सकिएला कि नसकिएला भन्ने विषयमा पनि पूर्वोत्तर सीमान्त रेलवेमा छलफल भइरहेको छ। उल्लेखनीय छ, सेभोक-रम्फू रेल परियोजनालाई भविष्यमा गान्तोकसम्म विस्तार गर्ने योजना छ। समीक्षा कार्य पहिले नै सम्पन्न भइसकेको छ। केही समयभित्र यसको विस्तृत परियोजना रिपोर्ट तयार गरिनेछ। यदि यो परियोजना कार्यान्वयनमा ल्याइए भविष्यमा राजधानी एक्सप्रेस जस्ता ट्रेनहरू पनि पहाड़मा पुग्न सक्छन्।पर्यटन व्यवसायी राज बासुले रेलवेको यस निर्णयलाई स्वागत गरेका छन्। तिनको भनाइमा, रेलवेको यस निर्णयले निश्चित रूपमा सिक्किम र कालेबुङलाई लाभ पुग्नेछ। साथै पर्यटकहरूलाई अब एनजेपी जानुपर्ने आवश्यकता छैन। तर यो ट्रेन सेभोकसम्म मात्र चल्नेछ त्यसकारण राष्ट्रिय राजमार्ग 10-को सुधार आवश्यक छ।