सेवक बजारसम्म एलिभेटेड करिडोर

2023 को मई महीनामा घोषणा गरिएको थियो। बजेट 2025 को आरम्भमै स्वीकृत भयो। सेवक सैनिक छाउनीदेखि सेवक बजारसम्म 14 किलोमिटर सड़कका लागि परिवहन मन्त्री नितिन गडकरीको मन्त्रालयले 1400 करोड़ रुपियाँ आवण्टन गरेको छ। यसले गर्दा बालासन पुलदेखि एलिभेटेड हाइवेको कार्य सेवक बजारसम्म विस्तार हुँदैछ। त्यति मात्र नभई दार्जीलिङ र कालेबुङका विभिन्न सड़कहरूसहित सिक्किमको लाइफ लाइनका लागि नयाँ पहल लिइँदैछ। बाख्राकोटका जस्तै 10 नम्बर राष्ट्रिय राजमार्गलाई पनि नयाँ स्वरूप दिइने प्रयास भइरहेको मन्त्रालय सूत्रले जनाएको छ। यसकारण राजमार्गको जिम्मावारी नेशनल हाइवे इन्फ्रास्ट्रक्चर डेभलपमेण्ट कर्पोरेशन लिमिटेडलाई दिइएको छ। एलिभेटेड हाइवेको नयाँ खण्डको बजेट स्वीकृतिको कागजात सार्वजनिक गर्दै दार्जीलिङका सांसद राजु विष्टले भनेका छन्, यातायात व्यवस्थामा क्रान्ति आइरहेको छ। योजनाबद्ध रूपमा केही सड़कहरू निर्माण भइरहेका छन्। यसले पहाड़ र तराई दुवै क्षेत्रका मानिसहरूलाई ठूलो लाभ हुनेछ। देशको सुरक्षा व्यवस्था पनि बलियो हुनेछ। पर्यटनको पनि विस्तार हुनेछ।

सिलगढ़ीलाई केन्द्र बनाएर रिङ रोड निर्माणको आश्वासन पनि सांसदले पुनः दिएका छन्। सिक्किम जाने वैकल्पिक मार्गले उत्तरतर्फ आशा जगाएको छ। बाख्राकोटदेखि चुइँखिमसम्म नयाँ सड़क र लुप पुल हेर्न पर्यटकहरूको भीड़ बढ़िरहेको छ। सड़क पूर्ण रूपले सञ्चालनमा आएपछि बङ्गाल-सिक्किमको सम्पर्कमा नयाँ उदाहरण स्थापित हुनेछ। साथै सेवक सैनिक छाउनीदेखि सेवक बजारसम्म एलिभेटेड करिडोर विस्तार भएपछि कालेबुङ र सिक्किम कम्ती समयमै पुग्न सकिनेछ। मनसुनको समयमा पैह्रोले सड़क अवरुद्ध भए पनि पर्यटक र सर्वसाधारणलाई झञ्झट हुने छैन। केन्द्र सरकारको सड़क यातायात मन्त्रालय सूत्रअनुसार केही समयभित्रै टेण्डर प्रक्रिया पूरा गरी नयाँ सड़क निर्माणको कार्य आरम्भ गरिनेछ। यो काम तीन वर्षभित्र पूरा हुनेछ। अर्थात् 2028 सम्म सेवक बजारसम्म एलिभेटेड हाइवेमा वाहन कुद्न थाल्नेछ।

नजिकैको भविष्यमा सेवक बजारदेखि दोस्रो कोरोनेशन पुल निर्माण गरिनेछ। यही कारणले सड़कलाई सेवक बजारसम्म पुर्यावइँदैछ। नयाँ 14 किलोमिटर सड़कमा सेवक रेल गेटसहित अन्य दुई स्थानमा एलिभेटेड पुल निर्माण हुनेछ। साथै सिक्किमको लाइफ लाइन 10 नम्बर राष्ट्रिय राजमार्गका लागि पनि नयाँ योजना बनाउँदै गडकरीको मन्त्रालयले काम गरिरहेको छ। पछिल्ला केही वर्षमा मनसुनको समय 10 नम्बर राष्ट्रिय राजमार्ग बिग्रिएको छ। लगातार पैह्रोको कारण यो वर्ष पनि मनसुनको समय सड़क प्रायः बन्द रह्यो। 10 नम्बर सड़कलाई बचाउन पैह्रो जोखिमयुक्त क्षेत्रमा एलिभेटेड पुल निर्माणको सल्लाह जापानी सड़क विशेषज्ञ कम्पनीले दिएको छ। उक्त प्रस्तावलाई एनएचआईडीसीएलले अध्ययन गरिरहेको छ। एक वर्षभित्रै यो कार्य आरम्भ हुने आशा गरिएको छ। तिनको भनाइमा, बालासन हुँदै सिलगढ़ी र दार्जीलिङ तथा दबाईपानी-टिस्टा-दार्जीलिङबीच दुईवटा राष्ट्रिय राजमार्ग निर्माण गर्ने प्रस्तावबारे पनि पहल भइरहेको छ। लोदाम, बिजनबारी लगायतका केही क्षेत्रका सड़क निर्माणको विषयमा मन्त्रालयले सर्वेक्षणको काम आरम्भ गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *