बीपी राजमार्गको आपतकालीन पुनःनिर्माण सुरु भएको छ। जापान सरकारको सहयोगमा बाढीका कारण क्षतिग्रस्त भएको सिन्धुलीस्थित बीपी राजमार्गको आपतकालीन पुनःनिर्माण सुरु भएको हो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देल र नेपालका लागि जापानी राजदूत माएदा तोरुले आइतबार सडक पुनःनिर्माणको औपचारिकरूपमा शिलान्यास गरेका हुन्।
नेपालस्थित जापानी दूतावासद्वारा जारी विज्ञप्तिअनुसार पुनःस्थापना कार्य जापानको अग्रणी निर्माण कम्पनी शिमिजु कर्पोरेसनले गर्नेछ। मध्य तथा पूर्वी तराईलाई राजधानी काठमाडौंसँग जोड्ने १६० किलोमिटर लामो सिन्धुली सडकको निर्माण सन् १९९५ देखि २०१५ सम्म जापान सरकारले २५.८ अर्ब येन अनुदान सहयोगमार्फत गरेको थियो।
उक्त सडकले नेपालको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्याएको दूतावासले जनाएको छ। सन् २०२४ को सेप्टेम्बरमा लगातार परेको वर्षापछि आएको बाढीले सिन्धुली सडकमा ठूलो क्षति पुर्याएको थियो। बाढीका कारण सडकको १० किलोमिटरभन्दा बढी भाग बगाउँदा स्थानीय जनजीवन, अर्थतन्त्र, व्यापार तथा यातायात क्षेत्रमा गम्भीर असर परेको थियो।
नेपाल सरकारको अनुरोधपछि जापान सरकारले २.८ अर्ब येन अनुदान सहयोग उपलब्ध गराएको थियो। सोही सहयोगअन्तर्गत पुनःस्थापना कार्य सुरु गरिएको हो। यस वर्ष नेपाल(जापान कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पुगेको अवसरमा सुरु गरिएको यो परियोजनाले नेपालको दिगो आर्थिक विकासमा टेवा पुर्याउनुका साथै दुई देशबीचको मित्रतालाई अझ सुदृढ बनाउने विश्वास जापानी दूतावासले व्यक्त गरेको छ।
You may also like
-
दुई घण्टा गाडी चढेर स्कुल पुग्छन् होल्डिङ सेन्टरका बालबालिका
-
चीन भ्रमणको तयारीमा रवि लामिछाने, राष्ट्रपति सी चिनफिङसँग भेटको प्रयास
-
आजसम्म शिक्षा र स्वास्थ्यमा नागरिकले तिरेको कर फिर्ता हुन्छ कि हुँदैन ?
-
अल्पमतमा परेका सुदूरपश्चिमका मुख्यमन्त्री शाहको तयारी के छ ?
-
मिटरब्याजलाई आर्थिक अपराध घोषणा गर्ने सहमति, ९ दिनदेखिको आन्दोलन स्थगित
