‘सिकारी’ प्रोफेसर

उनलाई ‘सर’ सम्बोधन गर्नेहरू धेरै छन्। २०२५ सालको सुरुदेखि २०५० को अन्त्यसम्म ठीक २६ वर्ष कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयमा इतिहास केन्द्रीय विभागमा अध्यापन गरे। उनी भक्तपुर सल्लाघारीस्थित सैनिक आवासीय महाविद्यालयका संस्थापक प्रिन्सिपल पनि हुन्।  १४ वर्षअघि मात्र उनले काभ्रे, साँगास्थित दीपेन्द्र प्रहरी महाविद्यालयको प्रिन्सिपल पदबाट अवकाश पाए। युवराज दीपेन्द्रका पनि अति मन परेका ‘हिस्ट्री ट्युटर’ हुन्, उनी।

हेमन्तशमशेर राणाको परिचय यतिले मात्र पूरा हुँदैन। उनी ब्याडमिन्टनका पूर्वराष्ट्रिय खेलाडी पनि हुन्। उनले कुनै बेलाको युवा महोत्सव खेलकुद संगठनको सदस्यसचिव तथा राष्ट्रिय खेलकुद परिषद्का सदस्यजस्तो पदमा रहेर नेपाली खेल क्षेत्रको विकासमा काम गरेका थिए।

उनको खासै नखुलेको अर्को परिचय पनि छ। त्यो हो– सिकारी। उनीसँग संगत गर्ने धेरै कमलाई मात्र थाहा छ, उनी कुनै जमानाका नामुद चरा सिकारी हुन्। विदेशी चराविद्ले लेखेको पुस्तकमा उनको नाम देखेपछि चरासँग उनको साइनोबारे कौतूहल जाग्नु स्वाभाविकै थियो। यही कौतूहल मेटाउन यसै साता फोटो पत्रकार साथी बिक्रम राईसँगै सूर्यविनायकस्थित उनको घर पुगेको थिएँ। यसबारे जिज्ञासा राख्दा उनले हाँस्दै भने, “हो त, म पनि जमानाको सिकारी नै हुँ।”

हेमन्तका बाजे हुन्, राणाकालका कमान्डर-इन-चिफ रुद्रशमशेर राणा। जसलाई श्री ३ महाराज जुद्धशमशेरले राणाहरूबीचको शक्तिसंघर्षका कारण १९९० सालमा धपाएर पाल्पाको बडाहाकिम बनाई पठाएका थिए। सपरिवार पाल्पा बस्ने क्रममा हेमन्तको जन्म उतै भयो, बाल्यकाल त्यहीँ बित्यो।

राणाकालमा सिकारलाई खेलकुदका रूपमा हेरिन्थ्यो। उनका बाजे-बाबु मात्र नभएर उमेर पुगेका दाजुहरूसमेत सिकार खेल्न जान्थे। सानोमा उनी गुलेली चलाउन पोख्त थिए। अग्रजहरू बाघलगायत ठूला जनावरको सिकार गर्न पाल्पाभन्दा तलको जंगल चहार्दा उनी चाहिँ गुलेली दागेर ससाना पन्छीहरू खसाल्थे। २००७ सालको क्रान्तिपछि रुद्रशमशेरको परिवार काठमाडौँ फर्कियो। दाजु उडस्टकमा पढ्दै गर्दा हेमन्तले घरमा भएको बेन्जामिन एअर राइफल चलाएर सिकार गर्ने मौका पाए। यहीँबाट आफूलाई अब्बल सिकारीमा तिखार्ने अवसर पाए। “पहिले म गुलेली चलाउन पोख्त थिएँ। बुवा र दाजुहरूसँग सिकारमा जाँदा उहाँहरूको बन्दुक चलाउने तौरतरिका नियालिरहेको हुन्थेँ। त्यही भएर सिकारसम्बन्धी ज्ञान सानैदेखि थियो। तर, राम्रोसँग चलाउन २०१५/१६ सालदेखि थालेको हुँ,” उनी भन्छन्। बन्दुक चलाउन भने उनले १३ वर्षको उमेरदेखि सिकेका थिए। फ्लेमिङ चरा संकलनका लागि २००६ सालमा पहिलोपल्ट नेपाल आएका थिए। रुद्रशमशेर पाल्पाको बडाहाकिम रहेकै बेला उनको परिवारसँग फ्लेमिङको हिमचिम बढेको हो। रुद्रशमशेरकै कारण उनलाई नेपालमा चरा संकलन गर्न सजिलो पनि भयो। यही भएर फ्लेमिङले आफ्नो पुस्तकमा रुद्रशमशेर र उनको परिवारको भूमिकालाई विशेष मानेका छन्। अझ, हेमन्तका दाजु सागरप्रति बढी अनुगृहीत देखिन्छन्।

फ्लेमिङ चराहरूको प्रख्यात संकलक रहेको हुनाले हेमन्तलाई सुरुमा लागेको रहेछ, उनी त जंगबहादुरजस्तै नामुद सिकारी होलान्। तर, २०१६ सालतिर एउटा रोचक घटना भएछ। यसपछि हेमन्तले बुझे, किन फ्लेमिङले आफ्नो किताबमा दाजु सागरको बढी बखान गरेका रहेछन्।

त्यतिबेला रुद्रशमशेरको परिवार नारायणहिटी दरबारभन्दा ठीक अगाडि (हाल अमेरिकी रिक्रिएसन सेन्टर रहेको ठाउँ) वीरशमशेरले बनाउन लगाएको फोहरा दरबारमा बस्थ्यो। एकदिन फ्लेमिङ आफ्नो छोरा जुनियर फ्लेमिङसँगै ठूलो गाडी लिएर रुद्रशमशेरको घरमा आए। सागर र लक्ष्मणविक्रम शाहलाई १२ बोर क्यालिबरको एक एक वटा सट गन थमाउँदै कालधारानजिकैको फाँटमा चाहा (स्नाइप) सिकार गर्न प्रेरित गरे। त्यसबेला सागर र लक्ष्मणसँगै हेमन्त पनि पहिलोपल्ट सिकारमा समावेश थिए।

त्यो सिकारमा जाँदा सागर र लक्ष्मण १२ बोरवाला बन्दुकमा एकातिर ४ नम्बर र अर्कातर्फ ४/१० को टोटा हालेर तमतयार देखिन्थे। कालधाराको फाँटमा भर्खरै धान काटेर परालको मचान बनाइएको थियो। बीचमा ठूलो भकारी पनि राखिएको थियो। त्यहीँ अडेस लागेर दुवै दाजुले चारपाँच वटा चाहा झारे। फ्लेमिङ र उनको छोरा खेतको दुई छेउमा बसेर ढुंगा हान्थे। उनीहरूको उद्देश्य त्यहाँ धान खान आएका चाहालाई ढुंगाले हानेर उडाउने थियो। निसानाका लागि दुईतिर बसेका आफ्ना शिष्य सागर र लक्ष्मण छँदै थिए। हेमन्तको काम भने खेतको बीच बीचमा हिँडेर ठ्यास्स एअर गन पड्काउने थियो। यसो गर्नुको उद्देश्य पनि गोलीको आवाज सुनेर चराहरू आकाशतिर उडून् भन्ने नै थियो। यसै क्रममा आफ्नो टाउकामाथि उडिरहेको एउटा चाहालाई उनले एअर गनले हानेर ड्याम्मै तल झारे। सैनिक स्कुलमै रहँदा २०४८ सालको जेठतिर उनलाई एउटा अविस्मरणीय अवसर जुरेको थियो। त्यसबेला उनले संसारकै सानो ‘बी हमिङवर्ड’ पछि दोस्रो सानो चराको सिकार गरे, जसलाई उनी एसियाको सबैभन्दा सानो चरा दाबी गर्छन्। सूर्यविनायक मन्दिरदेखि उत्तरी भेगमा पर्ने सिपाडोलनजिकै उनले सो चराको सिकार गरेका थिए। “सूर्यविनायक मन्दिरनजिकै उत्तरी भेगमा यो चरा भेटिएको थियो। गर्मीको समय थियो, शनिबार मदन खुसवाह सर र म बिहान ९ बजे त्यहाँ पुग्दा अनौठो आवाज निकाल्ने चरा भेटियो,” उनी भन्छन्। सिकारको लामो अनुभव बटुलेका उनको पहिलो निसाना धेरै पछि चुकेको थियो। दोस्रो प्रयासमा पुनः कपर बललाई तीनपल्ट पम्प गरे। “ठूलो भ्वाङ नपरोस् भन्ने नै ध्येय थियो मेरो। ऊ मभन्दा १०-१२ मिटर माथि थियो। टाउको र हल्का घाँटी निकालेर बसेको थियो। यसैको बीचमा निसाना दागेँ। टाउकोमा लागेछ, भुक्लुक्क ढल्यो,” उनी सम्झन्छन्।

यसलाई पछि ल्याबमा नाप्दा पुगअपुग सात सेन्टिमिटर देखियो। भारतका प्रख्यात चरा विशेषज्ञ सलिम अली र डा. फ्लेमिङको किताबलाई आधार मान्ने हो भने मैले सिकार गरेको त्यो चरा एसियाकै सानो चरा हो। विश्वकै सानो चरा ‘बी हेमिङवर्ड’ भन्दा चार मिलिमिटर मात्र लामो छ,” उनी दाबी गर्छन्।

उनको संकलनमा योबाहेक अर्को चरा पनि विशेष छ। जसको नाम हो, क्रिम्सन ब्रेस्टेड बार्बेट। यो चरा पनि उनले सैनिक महाविद्यालयमा कार्यरत रहँदा संकलन गरेका हुन्।

उनको अन्तिम सिकार थियो, २०६३ सालमा। उनी दीपेन्द्र प्रहरी स्कुल, साँगामा आबद्ध रहेका बेला नेपाली सेनाको जर्नेल पदबाट अवकाश पाएका दाजु सागर उनलाई भेट्न पुगेका थिए। साँझ फर्किने बेला दाजुलाई गेटसम्म छोड्न गएका उनी बाहिर ढुकुरको आवाज सुनेपछि लोभिए। सागरले त्यो ढुकुरलाई निसाना लगाउन बन्दुक मागेका थिए। तर, उनले नै हानेर पक्लक्क ढालिदिए। “दाजु पनि जमानाका नामुद सिकारी। म हान्छु, बन्दुक दे भन्दै हुनुहुन्थ्यो। मैले बन्दुक नमिल्ला कि भनेर आफैँले ताकेर हान्दा ढुकुर ड्याम्मै ढल्यो,” उनी भन्छन्।

उनको निसाना देखेर ब्याडमिन्टनका पूर्वराष्ट्रिय च्याम्पियन ज्ञानबहादुर खड्काले एकपल्ट भनेका थिए, ‘हेमन्त नामुद सिकारी हो। क्या निसाना लगाउँछ– गोलीमाथि गोली।’ अहिले आएर उनलाई सिकार बेकारको कुरा लाग्छ। सिकारलाई नमीठो लत भन्न रुचाउँछन्। तर, आफूले संकलन गरेको एसियाकै सानो चरालाई विश्व अभिलेखमा स्थापित गराउन सके आफ्नो सिकारी जीवन सफल हुने उनको आकांक्षा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *