दार्जीलिङ मोड़मा नयाँ बस स्ट्याण्डको योजना

शहरमा ट्राफिक जाम व्यवस्थापन गर्न सिलगढ़ीका मेयर गौतम देवले पुलिससित अब एसजेडीएलाई पनि सहभागी गराएका छन्। टाढ़ाबाट आउने बसहरू दिनभरि सड़कमा राख्दा ट्राफिक अवरोध सिर्जना गर्ने समस्याबाट यात्रीहरूलाई छुटकारा दिन दार्जीलिङ मोडस्थित हिमुलको बन्द भइसकेको कारखानाको 9 ऐकर खाली जमीनमा एसजेडीएले शहरको चौथो बस स्ट्याण्ड निर्माण गर्ने योजना बनाएको हो।
लगभग 70 वटा बसहरू एकै ठाउँमा अटाउन सक्ने व्यवस्था रहनेछ। यात्रीहरूका लागि विश्राम कक्ष, चालकहरूका लागि विश्रामस्थल लगायत सबै सुविधा भएको सफा, आधुनिक बस स्ट्याण्ड निर्माण गरिनेछ। यस योजनाका लागि प्रारम्भिक रूपमा राज्य सरकारले एसजेडीएलाई 2 करोड़ 4 लाख रुपियाँ उपलब्ध गराएको छ। अहिले योजनाको विस्तृत कार्य प्रतिवेदन तयार गर्ने कार्य भइरहेको छ। दशैँपछि निर्माण कार्य आरम्भ हुने एसजेडीए अध्यक्ष दिलीप दुगड़ले बताएका छन्। यससितै मतिगढ़ास्थित ट्रक टर्मिनस पनि 45 लाख रुपियाँको बजेटमा सुधार गरिनेछ। बुधवार सिलगढ़ीको पीडब्ल्यूडी बङ्गलोमा पत्रकारहरूसित कुराकानी गर्दै दुगड़ले भने, शहरको ट्राफिक व्यवस्थापन गर्न मेयरकै सुझाउमा एसजेडीएले बस स्ट्याण्ड निर्माणको जिम्मावारी लिएको हो। यो कार्य छिट्टै आरम्भ हुनेछ। ट्रक टर्मिनसको पनि पुनर्निर्माण गरिनेछ।
हाल सिलगढ़ीमा तीनवटा प्रमुख बस स्ट्याण्ड छन् सिलगढ़ी कोर्ट मोड़, तेञ्जिङ नोर्गे बस टर्मिनस अनि प्रधाननगरस्थित एनबीएसटीसी बस स्ट्याण्ड। यसबाहेक तेञ्जिङ नोर्गे टर्मिनस छेउमा र दार्जीलिङ मोड़मा दुईवटा अवैध बस स्ट्याण्ड पनि छन् जहाँबाट बिहार, झारखण्ड र उत्तर–पूर्व भारतका सबै लामो दूरीका बसहरू चल्ने गर्छन्। यी अवैध बस स्ट्याण्डहरू नै शहरको ट्राफिक जामको मुख्य कारण मानिएको छ। ट्राफिक समस्या थप बढ़ाउने अर्को कारण सिलगढ़ी कोर्ट मोड़मा रहेको बस स्ट्याण्ड हो जुन हटाउने प्रयास नगर निगमले गरे पनि सफल हुन सकेको छैन। नगर निगम अब त्यो अवैध निजी बस स्ट्याण्डलाई प्रस्तावित चौथो बस स्ट्याण्डमा सार्न चाहन्छ। मतिगढ़ाको बालासन पुलदेखि सालुगढ़ासम्मको सड़कलाई एलिभेटेड करिडोर जस्तै बनाएर विस्तार गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *