ओली गिरफ्तारी गलत : नेता गौतम

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा पूर्वउपप्रधानमन्त्री वामदेव गौतमले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरिएकोमा सरकारको आपत्ति जनाएका छन् ।
प्रधानमन्त्री बालेन्द्र शाहलाई खुलापत्र लेख्दै नेता गौतमले ओलीलाई पक्राउ गरिएकोमा सरकारको ध्यानाकर्षण गराएका हुन् ।
सरकारले ओलीमाथि गरेको व्यवहार राजनीतिक र मानवीय दृष्टिकोणले गलत भएको नेता गौतमको टिप्पणी छ । ओलीमाथि लगाइएका आरोपहरु अदालतबाट प्रमाणित भएको खण्डमा मात्रै उनलाई थुनेर कारबाही गर्न गौतमले प्रधानमन्त्री शाहलाई सुझाव दिएका छन् ।
‘हाम्रो कानुनी व्यवस्था एवं विगतका अभ्यासअनुसार कुनै पनि घटनाका छानबिन प्रतिवेदन सरकारसमक्ष पेस भएपछि सम्बन्धित निकायले अध्ययन र अनुसन्धान गरेपछि, त्यस्तो अनुसन्धानको निष्कर्ष अनुसार मात्र कारबाही प्रक्रिया अगाडि बढ्ने होे,’ पत्रमा गौतमले भनेका छन् ।
प्रधानमन्त्री शाह नेपालको ४३ औँ प्रधानमन्त्री बन्न र आजको अवस्थासम्म शान्तिपूर्ण रूपमा सम्पन्न भएका राज्यका क्रियाकलापहरूमा ओलीको योगदान रहेको गौतमको दाबी छ ।
ओलीका हकमा आकर्षित गरिएका वा गर्न खोजिएका कसुरलाई घटना, प्रमाण र कानुनले के भन्छ भन्ने कुराको परीक्षण पहिला हुनुपर्ने नेता गौतमको भनाइ छ ।
रातारात घर घेरेर, एकाविहानै ओलीलाई पक्राउ गर्ने शैली नै गलत रहेको उनको जिकीर छ । उनले प्रधानमन्त्री शाहलाई ओलीको गिरफ्तारीमा भएको गल्ती सच्याउन पनि सुझाव दिएका छन् । वृद्ध, शारीरिक रूपमा पनि अस्वस्थ राजनीतिक व्यक्तिलाई यो तहको सकसमा पार्नु उचित नहुने नेता गौतमको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *