नेपाल–भारत उद्योग वाणिज्य संघका पदाधिकारीहरूले भेट ऊर्जामन्त्री श्रेष्ठ

नेपालका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले ऊर्जा क्षेत्रको समग्र सुधारका लागि नीतिगत कार्यहरूलाई प्राथमिकतामा जोड दिएका छन । नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की)का पदाधिकारीहरूसँग भएको छलफलमा मन्त्री श्रेष्ठले ऊर्जा क्षेत्रका चुनौतीहरूलाई सम्बोधन गर्न सरकार नीतिगत सुधारमा केन्द्रित रहेको बताएका हुन् । ऊर्जा मन्त्रालयले नयाँ विद्युत् नीति ल्याउने तयारी गरिरहेको जानकारी दिँदै उनले त्यसका लागि स्पष्ट कार्ययोजना सहित ठोस सुझाव दिन निजी क्षेत्रलाई आह्वान गरे । ऊर्जा सुरक्षाका लागि सार्वजनिक र निजी दुवै क्षेत्रमा रहेका कमजोरीहरू सुधार्दै सहभागितामूलक मोडलमा जानुपर्ने उनको भनाइ थियो ।

निक्कीका अध्यक्ष सुनिल केसीले नेपालको जलविद्युत् क्षेत्रमा लगानीमैत्री वातावरण बनाउन र स्वीकृति प्रक्रियालाई सरल बनाउन सुझाव दिए । विगत दुई दशकमा अपेक्षाअनुसार भारतीय लगानी आउन नसकेको तथ्य प्रस्तुत गर्दै उनले अब प्रसारण पूर्वाधार र विद्युत् व्यापारलाई प्राथमिकता दिनुपर्ने बताए । संघले ऊर्जा सहकार्य विस्तारका लागि नयाँ दिल्लीमा ‘नेपाल–भारत ऊर्जा फोरम’ आयोजना गर्ने प्रस्ताव समेत अघि सारेको छ । जसमा दुवै देशका सरकारले सहजीकरण गर्ने र निजी क्षेत्रले लगानी गर्ने अवधारणा राखिएको छ । साथै, निक्कीले लामो समयदेखि प्रक्रियामा रहेका विद्युत् व्यापार अनुमतिहरूलाई छिटो अगाडि बढाउन मन्त्री श्रेष्ठको ध्यानाकर्षण गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *