रोजाइमा गैरआख्यान

इतिहासकार महेशराज पन्त यतिबेला नयाँ पाण्डुलिपि लेखनसँगै आफ्ना पूर्वप्रकाशित सामग्रीहरूको पुनर्लेखन/संशोधनमा व्यस्त छन्। उनी भन्छन्, “यही वर्ष दुईतीन वटा किताब प्रकाशकलाई बुझाइसकेको छु। अरू दुईचार किताब निकाल्नेबारे पनि सहमति भइसकेको छ।”

तृतीय पुरुष र रिक्थ र इतिहास उनका बुकहिलबाट प्रकाशनोन्मुख पुस्तक हुन्। नेपालय र फाइनप्रिन्टबाट समेत उनका अन्य पुस्तक आउने तय भइसकेको छ।

पब्लिकेसन नेपालयबाट यही वर्ष प्रकाशित पन्तको पृथ्वीनारायण शाह : नायक, प्रतिनायक अनि नायकदेशीय धेरै बिक्री हुने पुस्तकमध्ये पर्छ। दुई वर्षअघि मार्टिन चौतारीबाट प्रकाशित नेपाली इतिहासको परिवेश : केही ऐतिहासिक र मसीजीवी पुस्तकको समेत दोस्रो संस्करण निस्किइसकेको छ।

यसै वर्ष मार्टिन चौतारीबाट पन्तलिखित जयतु संस्कृतम् आन्दोलन र  संस्कृत शिक्षा र फाइनप्रिन्टबाट नेपालमा लिच्छविशासन : तेस्रो शताब्दी वि.सं.– १४३७ बजारमा आइसकेको छ।

संशोधन-मण्डलको बिरासत धानिरहेका ८१ वर्षीय इतिहासकार पन्तका कामप्रति व्यावसायिक प्रकाशकहरूले आँखा लगाउन थालेको हालसालै मात्रै हो।

पन्त भन्छन्, “मजस्ता गैरसाहित्यिक लेखकका किताबमा व्यावसायिक प्रकाशकहरूको ध्यानाकर्षण हुनु गैरआख्यान विधाप्रति रुचि बढिरहेको संकेत हो।”

नेपालयका सम्पादक विमल आचार्य पनि पछिल्लो समय गैरसाहित्यिक पुस्तक छापिने र पढ्ने क्रम बढेको बताउँछन्। उनी भन्छन्, “यस वर्ष हामीले गैरआख्यान किताब बढी छाप्यौँ।”

तिनमा गिरीश गिरीको नेपथ्य, फणीश्वरनाथ रेणुको सात सालको कथा (अनुवाद), गणेश लाठको सीमान्त सम्झनालगायत छन्। २०६८ सालमा सुरु भएको फिनिक्सका संस्थापक जगदीश अधिकारी त्यो समय फिक्सनको माहोल अत्यन्त बलियो रहेको बताउँछन्। भन्छन्, “पत्रकारदेखि कविसम्म आख्यान लेखिरहेका थिए। पल्पसा क्याफेको सफलताले साहित्यको वातावरण तताएको थियो। साहित्यिक पृष्ठभूमि नभएकाहरूसमेत उपन्यास लेखिरहेका थिए।”

फिनिक्सको पहिलो पुस्तक मञ्जुलको छेकुडोल्मा उपन्यास थियो। त्यसपछिका दुई पुस्तक पनि उपन्यास नै थिए।

२०७० सालमा स्थापना भई २०७१ सालमा प्रकाशन थालेको बुकहिलका संस्थापक भूपेन्द्र खड्का आत्मकथा र आत्मसंस्मरणको बिक्री पनि धेरै भएको स्मरण गर्छन्। “म प्रकाशनमा आउँदा उपन्यासको दबदबा थियो। साथै, केही समसामयिक राजनीतिबाहेक आत्मपरक किताबको बजार विस्तार भएको थियो। त्यही छेकोमा मैले पुष्कर शाहको संस्मरणबाट बुकहिल सुरु गरेँ र त्यसले पनि ठूलो संख्यामा पाठक पायो।”

खड्काले भनेजस्तै गैरआख्यानतर्फ सुधीर शर्माको प्रयोगशाला : संक्रमणमा दिल्ली, दरबार र माओवादी, हरिवंश आचार्यको चिना हराएको मान्छे, जगदीश घिमिरेको अन्तर्मनको यात्रा, विवेककुमार शाहको मैले देखेको दरबार : सैनिक सचिवको संस्मरण, केपी ढुंगानाको ओपन सेक्रेट, सरोजराज अधिकारीको चक्रव्यूहमा चन्द्रसूर्य, तारा राईको छापामार युवतीको डायरी, विनोद चौधरी : आत्मकथा, आनी छोइङ डोल्माको फूलको आँखामा आदि २०६० को दशककै बढी बिक्री हुने पुस्तक बने। यसबाहेक प्रत्यूष वन्त र मेरी डेशेनले सम्पादन गरेको नेपालको सन्दर्भमा समाजशास्त्रीय चिन्तन, खगेन्द्र संग्रौलाको आफ्नै आँखाको लयमा, हर्क गुरुङको विषय विविध, सञ्जीव उप्रेतीको सिद्धान्तका कुरा, झमक घिमिरेको जीवन काँडा कि फूललगायत किताबले चर्चा बटुले। राम्रो आख्यान लेख्न गैरआख्यान पढ्नुपर्छ भन्ने बलियो तर्क एकातिर छ। अर्कातिर कल्पनाशीलताले भरिएका साहित्यिक पुस्तक सामान्यतया फुर्सदमा मनोरञ्जनका लागि पढिने विधाका रूपमा समेत लिइन्छ। पछिल्ला २०/२५ वर्षमा नेपालमा ठूला राजनीतिक उथलपुथल भए। राज्यको पुन:संरचना, संविधान निर्माण, संघीयता, लैंगिकता, जातीय तथा क्षेत्रीय मुद्दाहरू सतहमा आए। साथै, तीव्र बसाइँसराइ, सामाजिक आन्दोलनहरूदेखि कोभिड-१९ महामारी र जेन-जी आन्दोलनसम्मका घटनाक्रमले पनि देश र समाज बुझ्न गैरआख्यानको आवश्यकता बढाएको देखिन्छ।

समीक्षक गणेश खनियाँ गैरआख्यानलाई ‘आधिकारिकताको खोज’ का रूपमा अर्थ्याउँछन्। “लामो समय हाम्रो समाज दाल, भात र डुकुमै अल्झेर बस्नुपर्‍यो। अध्ययन परम्परा ढिलो सुरु भयो,” उनी भन्छन्, “जति धेरै पढ्दै गयौँ, सतही कुराभन्दा आधिकारिक सामग्रीको खोजी बढ्दै आयो। यही क्रममा गैरसाहित्यिक किताबहरू महत्त्वका साथ पढिन थालेको हो।”

माओवादी द्वन्द्वपछि बहिष्करणमा परेका विभिन्न समूह/समुदायले आआफ्नै इतिहासमा दाबी गर्न थालेपछि इतिहासकै पुनर्लेखनका सामग्री प्रकाशन गर्ने र पढ्ने क्रम बढेको उनको तर्क छ।

कोभिड-१९ महामारीपछि गैरआख्यानतिर पाठकको रुझान अझै बढेको महसुस गरेका फाइनप्रिन्टका अजित बराल भन्छन्, “गैरआख्यान ज्ञान उत्पादनको स्रोत भएकाले समाज बुझ्न सहायक हुने साहित्यइतरका पुस्तकको खाँचो बढेको हुनुपर्छ। त्यसैले गैरसाहित्यिक पुस्तक समयको माग पनि हो।”

राजनीतिक घटनाक्रमको विकासकै कारण विगततर्फ फर्कने र इतिहासको अध्ययन गर्नुपर्ने आवश्यकता बोध गराएको उनको धारणा छ। यसमा फिनिक्सका अधिकारी र बुकहिलका खड्का पनि राजनीतिक कारणले पछिल्लो समयको पुस्तक बजार ‘इतिहासमुखी’ बन्दै गएको बताउँछन्। पराजुली भन्छन्, “अन्यत्र पनि इतिहास र आत्मकथा धेरै बिक्छन्।”

इतिहासकार पन्त थप्छन्, “संशोधन-मण्डलका प्रकाशनहरू पहिला त्यही विषयमा शोध गर्नेहरूले मात्रै खोज्थे। अहिले ती सामग्री आम पाठकसमेतले खोज्न थालेका छन्।”

पराजुलीका अनुसार हाम्रो विद्यालयस्तरका कक्षाकोठामा इतिहासको पढाइ हुँदैन। विश्वविद्यालयमा एकैपटक माथिल्लो तहमा पढाइ हुने इतिहासका सामग्रीको ढर्रा परम्परागत छ। यस्तो सन्दर्भमा बजारमा आउने इतिहाससम्बन्धी किताबमा पाठकको रुचि बढ्ने उनको मत छ। पराजुलीको सात सालको सामाजिक पृष्ठभूमिको सेरोफेरोमा लेखिएको पुस्तक नेपालयबाट प्रकाशनोन्मुख छ। आख्यान होस् वा गैरआख्यान, किताबको गुणस्तर र बजार दुवै पक्षलाई ध्यानमा राखेर पुस्तक निकाल्ने प्रकाशकहरू बताउँछन्। आचार्यका अनुसार नेपालयमा धेरै पाण्डुलिपि आख्यानकै आउँछन्। आचार्य भन्छन्, “गैरसाहित्यका किताब कम आए पनि अलि मिहिनेत गरेर लेखेको देखिन्छ। किनकि, ती धेरैजसो अध्ययन-अनुसन्धानकै क्षेत्रमा संलग्न हुन्छन्, अध्येता, शोधार्थी हुन्छन्। तिनको पाठकीय दायरा अनुमानयोग्य हुन्छ।”

पराजुली भने गैरसाहित्यिक प्रकाशकहरूको सीमा औँल्याउँछन्। “साहित्यिक किताब सम्पादन गर्ने थोरै संख्यामा भए पनि दक्ष सम्पादकहरू तयार भइसकेको देखिन्छ,” उनी भन्छन्, “गैरसाहित्यिक, त्यसमा पनि इतिहास र शोधमूलक पुस्तक सम्पादन गर्ने जनशक्तिको भने अभाव छ। व्यावसायिक प्रकाशन संस्थाहरूले यस पाटोमा लगानी नगरी गुणस्तरीय गैरआख्यान निकाल्नु चुनौतीपूर्ण देखिन्छ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *