लेप्टोस्पाइराको रिपोर्ट नेगेटिभ, फार्म बन्द नगरिने

हेपाटाइटिस–ए र लेप्टोस्पाइरा फैलिनमा पोल्ट्री फार्म जिम्मेवार छैन। सोमवार राजगञ्ज ब्लकको सन्न्यासीकट्टा ग्राम पञ्चायतमा देखिएको सङ्क्रमणका घटनामा कुखुराको सुली परीक्षण गरेर बेलगाछिया पशु अस्पतालको प्रयोगशालाले त्यस्तो रिपोर्ट दिएको जिल्ला पशुपालन विकास विभागले जानकारी दिएको हो। त्यो दिनै सन्न्यासीकट्टाको स्थितिबारे जिल्ला शासक कार्यालयमा बैठकमा सिलगढ़ीका मेयर गौतम देव, राजगञ्जका विधायक खगेश्वर राय, जलपाइगढ़ी जिल्ला परिषदकी सभाधिपति कृष्णा राय बर्मन, स्वास्थ्य कार्याध्यक्षा महुवा गोप आदि सामेल थिए। त्यहाँ जिल्ला स्वास्थ्य र पशुपालन विकास विभागका अधिकारीहरू पनि उपस्थित थिए। त्यसै बैठकमा बेलगाछियाको प्रयोगशालाको रिपोर्ट प्रस्तुत गरिएको थियो। रिपोर्टपछि मालिक पक्षले फार्म बन्द नगर्ने दाबी गरेको छ। तर प्रशासनको एक विशेषज्ञ टोली फार्ममै पुगेर विभिन्न पक्षहरूको अध्ययन गर्ने सहमति भएको छ। सङ्क्रमण कहाँबाट फैलियो भनेर पत्तो लगाउन अब विकास विभागले क्षेत्रका गोरु–गाई आदिको पशुपालन रगत परीक्षण गर्नेछ। स्थिति सामान्य नभएसम्म पाइप लाइनमार्फत पानी आपूर्ति रोक्ने र ट्याङ्की तथा पाउचमार्फत पानी वितरण गर्ने निर्णय पनि बैठकमा गरिएको छ।
जिल्ला स्वास्थ्य विभागअनुसार हिजो साँझसम्म 270 जनाको रगत परीक्षण गरिएको थियो। तीमध्ये लगभग 153 जनाको रगतमा लेप्टोस्पाइराको सङ्क्रमण भेटिएको छ। सूत्रअनुसार उक्त पोल्ट्री फार्मका चारजना कामदारको शरीरमा हेपाटाइटिस–ए को सङ्क्रमण पुष्टि भएको छ। तर अहिले उत्तर बङ्गाल मेडिकल कलेजमा हेपाटाइटिस–ए परीक्षण किट सकिएको कारण परीक्षण रोकिएको छ।
प्रयोगशालाको रिपोर्टपछि फार्म सञ्चालकले राहत अनुभव गरे पनि अहिले नै पूर्ण रूपमा चुनौती सकिएको छैन। ह्याचरीको पानी कहाँ पुग्छ अनि कुखुराको सुलीबाट पानी प्रदूषित भइरहेको छ कि छैन भनेर हेर्ने आदेश दिइएको छ। जिल्ला परिषदकी स्वास्थ्य कार्याध्यक्षा महुवा गोपले भनिन्, सङ्क्रमणको स्रोत पत्तो लगाउन विभिन्न किसिमका परीक्षणहरू निरन्तर भइरहेका छन्। पशुपालन विकास विभागका डेप्युटी डाइरेक्टर अभिजीत मण्डलले भने, फार्मभित्रका धेरै ठाउँबाट नमुना बेलगाछियाको प्रयोगशालामा पठाइएको थियो। रिपोर्टमा लेप्टोस्पाइरा नेगेटिभ आएको छ। तर अन्य ठाउँबाट पनि नमुना सङ्कलन गरिएको थियो। ती रिपोर्ट आएपछि मात्र गाउँमा लेप्टोस्पाइरा कहाँबाट फैलियो भनेर थाहा पाइनेछ। फार्म मालिक विकास रेड्डीले भने, रिपोर्ट नेगेटिभ आएको छ। त्यसैले अहिलेका लागि फार्म बन्द नगर्न भनिएको छ। फार्ममा विशेषज्ञ टोली आउनेछ। साथै फार्मबारे थप केही कदम चाल्न निर्देशन दिइएको छ। त्यसअनुसार काम गरिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *