इनरुवा ६ का वडाध्यक्ष पक्राउ

एजेन्सी: सुनसरीको इनरुवा वडा नम्बर ६ का वडाध्यक्ष सुमन थापा पक्राउ परेका छन् । शरीर अङ्गभङ्ग मुद्दामा पक्राउ पुर्जी जारी भएपछि फरार रहेका थापा पक्राउ परेका हुन् ।

उनी वडा सदस्यलाई कार्यवाहकको जिम्मेवारी दिएर लामो समयदेखि लुकेर बस्दै आएका थिए । उनलाई शनिवार राति इलाका प्रहरी कार्यालय पकलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

थापाले चलाएको बा २१ च ६८८८ नम्बरको कारले प्र १-०२-०४४प ७४२८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा पछाडि सवार देवीका खनाल गम्भीर घाइते भएकी थिइन् ।

खनालको विराटनगरस्थित विराट नर्सिङ होममा प्रारम्भिक उपचारपछि विभिन्न अस्पतालमा उपचार भएको थियो । थापा भने ठक्कर दिएर सम्पर्क बाहिर रहेका थिए । उनले पहुँचको आधारमा खनाललाई उल्टै हप्की दप्की समेत गरेको आरोप लागेको थियो ।

फागुन २२ गते साँझ चतराबाट कान्छी चोकतर्फ आउँदै गर्दा वडाध्यक्ष थापाले चलाएको गाडीले ठक्कर दिएकी खनालको अवस्था अझै ठिक भएको छैन ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक केशव थेबेले थापा पक्राउ परेपछि अब कानुन बमोजिमको प्रक्रिया अघि बढाइने जानकारी दिए ।

दुर्घटनापछि पीडित पक्षले प्रहरीमा जाहेरी दिँदा पहुँचको बलमा मुद्दा दर्ता भएको थिएन । प्रहरीले मुद्दा दर्ता गर्न अस्वीकार गरेपछि हुलाक मार्फत जाहेरी दिइएको थियो ।

हुलाक मार्फत दिएको जाहेरी समेत दर्ता नभएपछि पीडित परिवारले उच्च अदालत विराटनगरमा अङ्ग भङ्गको मुद्दा दायर गरेको थियो ।

उच्च अदालतले गत भदौ ३ गते जिल्ला सरकारी वकिल कार्यालयलाई कारणसहित जवाफ दिन आदेश दिएपछि मात्र प्रहरी सक्रिय भएको थियो ।

त्यसपछि साउन १६ गते मुद्दा दर्ता भई साउन २० गते थापाविरुद्ध पक्राउ पुर्जी जारी गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *