गोरुमारामा हाई अलर्ट

काजीरङ्गा राष्ट्रिय निकुञ्जमा चोर सिकारीको मृत्यु भएपछि निगरानी अझ कठोर बनाइएको छ। यस घटनापछि उत्तरको जङ्गलहरूसितै गोरुमारा जङ्गलमा पनि हाई अलर्ट जारी गरिएको छ। गत 28 मईमा काजीरङ्गा राष्ट्रिय निकुञ्जमा एक चोर सिकारीको मृत्यु भएको थियो। तिनीबाट बन्दुक फेला पारिएको थियो। तिनी गैँडा मार्न आएका जाँचकर्ताहरूले थाहा पाएका छन्। यस घटनापछि उत्तर बङ्गालका विभिन्न जङ्गल क्षेत्रमा सुरक्षा अझै कठोर बनाइएको छ। कुन्की हात्तीमार्फत दिन-रात निगरानी भइरहेको छ। जङ्गलको भित्री क्षेत्रमा मात्र होइन बाहिरी भागमा पनि निगरानी जारी छ। निगरानीमा ड्रोनको सहयोग पनि लिइँदैछ। केही दिनदेखि गोरुमारानजिक रामसाई र वरपरका क्षेत्रमा रुट मार्च चलिरहेको छ। पुलिस र वन विभागले रामसाई क्षेत्रका संवेदनशील स्थानहरूको निरीक्षण गरिरहेका छन्।
यसअघि गोरुमारामा गैँड़ा सिकार गर्न सिकारीहरूले जिरो बाँध प्रयोग गरेका थिए। त्यसपछि जिरो बाँध र वरपरको क्षेत्रमा निगरानी बढ़ाइएको हो। रामसाईमा पनि सुरक्षा कठोर पारिएको छ। नदी मार्ग र घाँस भएको क्षेत्र हुँदै सिकारीहरू जङ्गलमा प्रवेश गर्छन्। त्यसैले नदी मार्गमा पनि सुरक्षा बढ़ाइएको छ। सिकार गर्न बाहिरबाट आउनेहरूले कहिलेकाहीं स्थानीयको सहयोग पनि लिने गर्छन्। त्यसैले स्थानीय वासिन्दाहरूलाई पनि सचेत गरिएको छ। वन विभागको तालिम प्राप्त कुकुर अर्ल्याण्डोहरूको सहयोगमा केही स्थानहरूको निरीक्षण गरिँदैछ।
गोरुमारा वन्यजन्तु विभागका एडीएफओ राजीव देले भने, काजीरङ्गाको घटनापछि गोरुमाराको सुरक्षा बढ़ाइएको छ। जङ्गलबाहिर पनि गस्ती भइरहेको छ। संवेदनशील स्थानहरूमा पुलिस प्रशासनसित मिलेर एरिया डोमिनेशन पनि गरिँदैछ। जलपाइगढ़ीका पुलिस अधीक्षक खण्डबहाले उमेश गणपतले भने, वन विभागसित मिलेर पुलिसले पनि संयुक्त गस्ती गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *