हाउस फर अल योजनामा अनियमितता नहोस् भनेर आरम्भदेखि नै निगरानी शुरु गर्दैछ जलपाइगढ़ी नगरपालिकाले। प्रत्येक वार्डमा यस योजनाको घर निर्माण कार्य नियमित अवलोकन गर्न परियोजना साथी नियुक्त गर्न लागिरहेको छ। बिहीवार जलपाइगढ़ी नगरपालिकाको प्रयासमा परियोजना साथीहरूका लागि एकदिने तालिमको व्यवस्था गरिएको थियो। यस तालिम कार्यक्रममा जलपाइगढ़ी नगरपालिकाका उपाध्यक्ष सैकत चट्टोपाध्याय, हाउस फर अल योजनाका सभापति पार्षद स्वरूप मण्डल तथा अन्य विभागीय अधिकारीहरू उपस्थित थिए।
जलपाइगढ़ी नगरपालिकाभित्र कतिपय लाभार्थीहरूले सरकारी योजनाअन्तर्गत रकम पाए पनि घर निर्माण नगरेका आरोप उठेको छ। कतिले पुरानै घरको छानामा सरकारी योजनाको घर निर्माण कार्य आरम्भ गरेका छन्। यस प्रकारका उजुरीहरू सार्वजनिक भएपछि नगरपालिकाको तर्फबाट केही लाभार्थीहरूलाई नोटिशसमेत पठाइएको छ। तर नोटिश पाए पनि तिनीहरूले अझैसम्म घर निर्माण कार्य आरम्भ गरेका छैनन्। अब तिनीहरूबाट रकम फिर्ता लिने निर्णय गरिएको छ.नगरपालिकाका भाइस चेयरम्यानले भने, सरकारी रकम पाए पनि घर निर्माण आरम्भ नगर्ने लाभार्थीहरूको सूची बनाई एकपल्ट होइन धेरैपल्ट नोटिश दिइसकिएको छ। अब ती लाभार्थीहरूले कार्य आरम्भ गरे कि गरेनन् भनेर परियोजना साथीहरूले गएर हेर्नेछन्। यदि कार्य आरम्भ गरेका छैनन् भने तिनीहरूको रकम फिर्ता लिइनेछ। कारण घर निर्माणका लागि सरकारले रकम उपलब्ध गराएको हो। त्यो रकम अन्य कुनै प्रयोजनमा प्रयोग गर्न मिल्दैन।
नगरपालिकाबाट प्राप्त जानकारीअनुसार अङिले जलपाइगढ़ी नगरपालिकाअन्तर्गत हाउस फर अल योजनामा लगभघ 8 हजार लाभार्थीहरू छन्। तीमध्ये रकम पाए पनि घर निर्माण आरम्भ नगर्ने लगभग 3 प्रतिशत लाभार्थीहरूलाई नगरपालिका चिन्हित गरिसकेको छ। सरकारी नियमअनुसार जुन जग्गाको कागजातका आधारमा लाभार्थीलाई रकम दिइएको हो त्यहाँ नै निर्माण कार्य गर्नुपर्छ। तर कतिपयले खाली जग्गा देखाएर योजनामा नाम दर्ता गराई पुरानो घरको छानामै योजनाको रकमले घर बनाइरहेका उजुरी आएको छ। यस विषयमा हाउस फर अल योजनाका सभापति पार्षद सदस्यले भने, दुई तले भवनमाथि योजनाको घर बनाउन पाइँदैन। जुन जग्गाको कागजात दिएर योजनाअन्तर्गत नाम दर्ता गराइको छ त्यहाँ नै घर निर्माण गर्नुपर्छ। यदि कसैले छतमै घर बनाएका छन् भने कानूनी रूपमा कारवाही गरिनेछ। यसअघि नगरपालिकाको बोर्ड बैठकमा पनि पार्षदहरूले यो विषय उठाएका थिए। त्यति बेला जसले योजनाको रकम पाए पनि घर निर्माण गरेका छैनन् तिनीहरूलाई पहिले नोटिश दिइने निर्णय गरिएको थियो। बोर्ड बैठकको निर्णयअनुसार चिन्हित लाभार्थीहरूको सूची तयार गरी तिनीहरूलाई सचेत गराउन साथै तीनपल्ट चाँड़ै घर निर्माण कार्य आरम्भ गर्न नोटिश दिइएको थियो। नोटिश पाए पनि अझै केही लाभार्थीहरूले घर निर्माण आरम्भ नगरेका उजुरीहरू आएका छन्।
