एजेन्सी: घोराही उपमहानगरपालिका-८ का वडाध्यक्ष जितेन्द्रबहादुर शाहले आफूलाई कार्यपालिका बैठकमा आफूलाई बस्न नदिएर निकालिएको गुनासो गरेका छन् । दुई वर्षअघि दिएको राजीनामा अहिले स्वीकृत गरेर मेयरले आफूलाई सोमबार बैठकबाट हपारेर निकालेको उनको भनाइ छ ।
घोराहीका नगरप्रमुख नरुलाल चौधरी र वडाध्यक्ष शाह एउटै पार्टी एमालेका हुन् । मेयरले बजेट नदिएको भन्दै शाहले २०८० साल असार १२ गते राजीनामा बुझाएका थिए । तर, राजीनामा स्वीकृत नभएपछि शाहले नियमित कार्यसम्पादन गर्दै आएका थिए । अकस्मात् राजीनामा स्वीकृत भएर आफू पदमुक्त भएको उनले थाहा पाए ।
यो विषयमा सामाजिक सञ्जालमा स्टाटस लेख्दै शाहले आफूलाई नगरप्रमुखले हप्काएको बताएका छन् । शाहका अनुसार नगरप्रमुख चौधरीले उनलाई ‘धेरै बोल्ने होइन, बाहिर निस्कनुस् भन्दै हपारेका थिए ।’
उनले लेखेका छन्, ‘कार्यपालिकाको बैठक ७ बजे थियो, म बिहान ५ बजे घोराही १५ मा रहेको तरकारी बजार पुगेर त्यहाँको समस्या बुझेँ। अनि कार्यपालिकाको बैठकमा भित्र जान खोज्दा नगर प्रमुखज्यूले रिसाएर ‘बस्न पाउनुहुन्न आउट’ भन्नुभयो । मैले किन मेयर साब ? भन्दा ‘तपाईँको २०८०-३-११ गते दिएको राजीनामा पत्रअनुसार स्वीकृत भइसक्यो’ भन्नुभयो ।’
उक्त पत्रमा यसअघि नगर प्रमुख चौधरीले हस्ताक्षर नभएको बताइरहे पनि अहिले स्वीकृत गरेकोप्रति वडाध्यक्ष शाहले असन्तुष्टि जनाएका छन्।
‘मैले साइन गरेको छैन भन्नुभएको होइन र भन्दा ‘धेरै बोल्ने होइन, बाहिर निस्किनुस्’ भन्नुभयो । मैले धन्यवाद दिएर निस्किएँ,’ उनले भने।