नेपाली कांग्रेसका सभापति गगनकुमार थापा प्रतिनिधिसभा निर्वाचन लड्न सर्लाही ४ जाने निधो भएको छ। काठमाडौँ ४ बाट लगातार तेस्रोपटक सांसद चुनिएका थापा चौथोपटकका लागि मधेस झरेका हुन्।
थापा उठेको सर्लाही ४ नेपाली कांग्रेसको गढ मानिन्छ। २०४८ सालदेखि लगातार तीनपटक २०५६ सालसम्म यहाँ कांग्रेस उम्मेदवारले नै जितेका थिए। २०६४ सालमा भने कांग्रेसको गढ मधेसी जनअधिकार फोरमले खोस्यो।
२०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा कांग्रेसका अमरेशकुमार सिंहले बिरासत फर्काए। २०७० पछिका दुईवटा निर्वाचन लगातार जितेर कांग्रेसको बिरासत जोगाएका सिंह २०७९ सालको चुनावमा भने कांग्रेसमा रहेनन्। कांग्रेसबाटै बागी बनेका सिंहले कांग्रेस उम्मेदवार नागेन्द्र राय यादवलाई पराजित गरेका थिए। निर्वाचनमा सिंहले २० हजार १७ मत ल्याएका थिए भने कांग्रेसका यादवले १८ हजार २५२ मत। अर्की स्वतन्त्र उम्मेदवार मधुमालाकुमारी यादवले १४ हजार ६२२ मत ल्याएकी थिइन्।
सिंह २१ फागुनमा हुन लागेको प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट यही क्षेत्रमा उम्मेदवार बनेका छन्।
सर्लाही ४ पुराना कांग्रेस नेता महन्थ ठाकुर उठ्दै आएको क्षेत्र हो। २०४८ र २०५१ सालमा भएको मध्यावधि निर्वाचनमा ठाकुर नै निर्वाचित भएका थिए। २०५६ को संसदीय चुनावमा कांग्रेस उम्मेदवार बदल्यो। नागेन्द्र राय यादवलाई मैदानमा ल्यायो। उनले पनि जिते। विशेष महाधिवेशनको रापतापमा परेको कांग्रेसमा थापा र निवर्तमान सभापति शेरबहादुर देउवा समूहबीच तिक्तता छ। आधिकारिकताको विवाद अदालतमा पुगिरहँदा तीव्र असन्तुष्टिका बीच थापाले सर्लाही ४ छानेका छन्। उम्मेदवार छनोटमा समेत कांग्रेसमा चित्त बुझाइ छैन। भावनात्मक एकताबिनै बलिया उम्मेदवार भएको क्षेत्रमा गएका विशेष महाधिवेशनबाट नवनिर्वाचित थापालाई चुनौती छ।
राजनीतिक विश्लेषक चन्द्रकिशोर झा गगन थापा सर्लाही झर्नुले कांग्रेसले आफ्नो पुरानो आधारक्षेत्र फर्काउने दाउ भएको हुनसक्ने बताउँछन्।
“यो सँगै बालेन, गगनजीको मधेस झर्नुभएको छ, उहाँहरूको नामांकनले मधेसलाई बिनाप्रोपोगान्डा मूलधारको राजनीतिमा ल्याइएको छ,” झा भन्छन्, “चुनावमा के कसरी ध्रुवीकरण हुन्छ, समीकरण र रणनीति कसरी बन्छ, अभियानमा स्थानीय भाष्य आउँछ, त्यसले उम्मेदवारको भाग्यको फैसला गर्छ।” सर्लाही ४ मा एक लाख २१ हजार १२ मतदाता छन्। जिल्ला निर्वाचन कार्यालय सर्लाहीका सूचना अधिकारी अरविन्दकुमार झाका अनुसार जिल्लाका चारवटा क्षेत्रमा पाँच लाख ११ हजार ६०६ मतदाता छन्।
