परराष्ट्रमन्त्री शिशिर खनाल मौरिसस जाने भएका छन् । परराष्ट्रमन्त्रीमा नियुक्त भएपछि खनालको यो पहिलो विदेश भ्रमण हो । २७ र २८ चैतमा मौरिससमा आयोजना हुने नवौं पश्चिमी हिन्द महासागर सम्मेलन (इन्डियन ओसियन कन्फरेन्स)मा भाग लिन उनी मौरिसस जान लागेका हुन् । मौरिसस सरकार र भारतीय विदेश मन्त्रालयको सहयोगमा दिल्लीस्थित थिंक ट्यांक इन्डिया फाउन्डेसनले सम्मेलनको आयोजना गर्र्दैछ । सम्मेलनमा भारतका विदेशमन्त्री एस. जयशंकरसहित विभिन्न देशका मन्त्रीहरू पनि सहभागी हुनृछन् । मन्त्री खनालले भारतीय समकक्षी जयशंकरसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।
सम्मेलनमा बंगलादेशका विदेशमन्त्री खलिलुर रहमान, श्रीलंकाका विदेशमन्त्री विजिथा हेराथ, भुटानका विदेशमन्त्री डीएन ढुंगेल, ओमानका विदेशमन्त्री बद्र हमाद अल बुसैदी, सेसेल्सका विदेशमन्त्री ब्यारी फाउरलगायतले पनि भाग लिँदैछन् । इन्डिया फाउन्डेसनको यो सम्मेलनमा नेपालले पनि भाग लिँदै आएको छ । गतवर्ष फेब्रुअरीमा मस्कटमा भएको आठौं सम्मेलनमा तत्कालीन परराष्ट्रमन्त्री आरजु राणा देउवा सहभागी भएकी थिइन् ।
