नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्रीकोे आह्वान

अर्थमन्त्री स्वर्णिम वाग्लेले भारतीय लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान गरेका छन् ।
इन्डिया ह्याबिट्याट सेन्टरमा कन्फेडेरेसन अफ इन्डियन इन्डस्ट्री (सीआईआई)ले शनिबार भारतको नयाँदिल्लीमा आयोजना गरेको व्यापार तथा लगानी अन्तरक्रिया कार्यक्रममा मन्त्री वाग्लेले भारतीय लगानीकर्ता, उद्योगी तथा व्यवसायीहरूलाई नेपालमा लगानी र व्यापारका अवसरहरूको खोजी र विस्तार गर्न आह्वान गरे ।
नेपालमा लगानीका लागि यो उपयुक्त समय भएको समेत उनले बताए ।
भारतीय व्यवसायी र निजी क्षेत्रका प्रतिनिधिहरूको उपस्थितिमा मन्त्री वाग्लेले नेपालमा उदीयमान लगानीका अवसरहरूमाथि प्रकाश पार्दै देशको आर्थिक रूपान्तरणमा सहभागी हुन भारतीय व्यवसायीहरूलाई आमन्त्रण गरे ।
उनले नेपालले उच्च वृद्धिको सम्भावना भएका क्षेत्रहरूमा लगानीका लागि ठूलो अवसर प्रदान गर्ने उल्लेख गर्दै पहिले नै नेपालमा सञ्चालित भारतीय कम्पनीहरूलाई आफ्नो लगानी विस्तार गर्न र नयाँ लगानीकर्ताहरूलाई नेपाली बजारको खोजी गर्न आग्रह गरे ।
मन्त्री वाग्लेले नेपाल सरकार सुशासन, आर्थिक समृद्धि, लगानी सहजीकरण र संरचनात्मक आर्थिक रूपान्तरणको एजेन्डामा अघि बढिरहेको पनि बताए । नीतिगत सुधारलाई तीव्र बनाउन र अझ बढी अनुमानयोग्य, पारदर्शी तथा लगानीकर्ता(मैत्री व्यवसायिक वातावरण सिर्जना गर्न सरकारले गरिरहेका प्रयासहरूको चर्चा उनले गरे ।
‘डिजिटलाइजेसन, स्वच्छ ऊर्जा, उच्च मूल्यको कृषि, वेलनेस पर्यटन र उत्पादन साझेदारीको अवधारणामा आधारित उत्पादन क्षेत्र नेपालको अर्थतन्त्रका महत्वपूर्ण वाहकका रूपमा उदय भइरहेका छन्,’ मन्त्री वाग्ले भने, ‘भारतीय व्यवसायीहरूलाई नेपाललाई बजारको रूपमा मात्र नभई लगानी, उत्पादन, मूल्य अभिवृद्धि र क्षेत्रीय तथा विश्वव्यापी आपूर्ति शृंखलामा एकीकरणका लागि रणनीतिक साझेदारको रूपमा हेर्न चाहन्छौं ।’
नेपाल र भारतबीचको दीर्घकालीन आर्थिक सम्बन्धले द्विपक्षीय व्यापार र लगानी विस्तारका लागि बलियो आधार प्रदान गरेको उनको भनाइ थियो ।
अन्तरक्रियामा सहभागी भारतीय व्यावसायी र निजी क्षेत्रका प्रतिनिधिहरूले नेपालमा व्यापार र लगानीका अवसरहरू खोज्न गहिरो रुचि व्यक्त गरे। सहभागीहरूले अर्थमन्त्रीसँग सम्भावित सहकार्यका क्षेत्रहरूमा छलफल गर्नुका साथै नेपालको लगानी नीति, सुविधा, क्षेत्रगत अवसरहरू र व्यवसायिक वातावरणका बारेमा थप जानकारी मागेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *