अन्ततः जलपाइगढ़ी–शियालदह सिधा रेल सेवा

जलपाइगढ़ीदेखि शियालदहसम्म सिधा रेल सेवा आरम्भ हुन लागेको छ। 14 जूनको दिन जलपाइगढ़ी रोड रेलवे स्टेशनमा आयोजना हुने एक समारोहमार्फत नयाँ रेलले आफ्नो यात्रा आरम्भ गर्नेछ। रेलको अलिपुरद्वार डिभिजनका डिभिजनल कमर्शियल म्यानेजर अभय गणपत सोनपले भने, त्यो दिन बेलुकी 5 बजी जलपाइगढ़ी रोड स्टेशनमा एक कार्यक्रम हुनेछ। त्यसपछि राति 8.30 बजी रेलले यात्रा आरम्भ गर्नेछ। गत 25 फरवरीमा रेल बोर्डले उत्तर–पूर्व सीमावर्ती रेल र इष्टर्न रेलवेका महाप्रबन्धकहरूलाई शियालदह–जलपाइगढ़ी रोड स्टेशनबीच नयाँ रेल सेवा आरम्भ गर्न निर्देशन दिएको थियो। त्यस सेवाका लागि 22317 र 22318 नम्बरका शियालदह–जम्मू–तवी हमसफर एक्सप्रेसका रेक प्रयोग गर्न भनिएको थियो। जलपाइगढ़ीका सांसद जयन्त रायको पहलमा यो सेवा आरम्भ गर्ने निर्णय रेल बोर्डले लिएको हो।
तर त्यसपछि धेरै समय बिते पनि रेल कहिलेदेखि चल्ने भन्ने विषयबारे रेल अधिकारीहरूले मौन धारण गरेका थिए। अन्ततः निर्देशन जारी भएको साढ़े तीन महिनापछि रेल सेवा आरम्भ हुन लागेको हो। भाजपा सांसद जयन्त रायले भने, जलपाइगढ़ी एक विभागीय शहर हो। यहाँ उच्च न्यायालयको सर्किट बेञ्च, पोलिटेक्निक कलेज, इञ्जिनियरिङ कलेज, विश्वविद्यालयको दोस्रो क्याम्पस लगायत थुप्रै संरचना छन् र निर्माण हुँदैछन्। यस क्षेत्रको पूर्वाधार विकास आवश्यक छ। त्यसैले जलपाइगढ़ीदेखि सिधै कोलकाता जाने रेल सेवा आरम्भ गर्न रेलमन्त्रीसमक्ष आग्रह गरेको थिएँ। तिनीअनुसार नयाँ रेल सेवाले आवागमनलाई अझ सहज बनाउनेछ।
रेलको अलिपुरद्वार डिभिजन सूत्रअनुसार यो रेल हप्तामा एक दिन सञ्चालन हुनेछ। प्रत्येक शुक्रवार राति 11.40 बजी शियालदहबाट छुट्ने र शनिवार दिउँसो 12.15 बजी जलपाइगढ़ी रोड पुग्नेछ। शनिवार राति 8.30 बजी जलपाइगढ़ी रोडबाट छुटेर आइतवार बिहान 8.10 बजी शियालदह पुग्नेछ। यो 19 डब्बे भएको रेलमा 16 वटा एसी थ्री टियर कोच रहनेछन्। साधारण र स्लीपर कोच रहने कि नहुने भन्नेबारे केही दिनभित्र अन्तिम निर्णय हुने एक रेल अधिकारीले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *