सालबारी हाट क्षेत्रबाट नक्कली डाक्टर पक्राउ

सालबारी हाट क्षेत्रमा कीर्ते डाक्टर फेला परेको जानकारी प्राप्त भएको छ। सालबारी हाट क्षेत्रको एउटा क्लिनिकमा डाक्टर बाबु प्रह्लाद सिंह बिरामी जाँच्थे। सालबारी हाट क्षेत्रमा तिनको निकै सुनाम थियो। व्यवसाय पनि राम्रै चलिरहेको थियो। तर एउटा गल्तीले सबै भताभुङ्ग भयो। एकै क्षणमा तिनी खलनायक बने। भीड़ले समातेर तिनलाई पिट्यो अनि पुलिसलाई खबर गरियो। अधिकारीहरूले डाक्टरीको प्रमाणपत्र देखाउने माग गर्दा तिनले केही देखाउन सकेनन्। वैध कागजात देखाउन नसकेपछि तिनलाई जेल पठाइयो।
स्थानीय वासिन्दा विश्वास प्रधानकी 10 वर्षकी छोरी केही दिनदेखि दाँतको समस्याले पीड़ित थिइन्। प्रधानलेले छोरीलाई प्रह्लादको क्लिनिक लगे। प्रह्लाद सिंहले दाँत परीक्षण गरेर दुखेको दाँत निकाल्नुपर्ने सुझाउ दिए। विश्वास प्रधानले डाक्टरको सुझाउ माने। तर समस्या त्यहीँ आरम्भ भयो। सोमवार राति दाँत निकालेर छोरीलाई घर लगेपछि प्रधानले थाहा पाए कि जुन दाँत निकाल्नुपर्ने थियो तर त्यसको साटो छेउको अर्कै दाँत निकालिएको रहेछ। हतार-हतार तिनी क्लिनिक पुगे। पहिले त सामान्य विवाद भयो तर पछि बिस्तारै ठूलै झगड़ा लाग्यो। स्थानीय मानिसहरू भेलाभए। जब डाक्टर बाबुको प्रमाणपत्र देखाउन भनियो तिनले केही देखाउन सकेनन्। त्यसपछि क्षुब्ध भीड़ले तिनलाई कुटपिट गर्योब र पुलिसलाई खबर गरिदियो।
पक्राउ परेका नक्कली दाँत चिकित्सक एकतियासालका प्रधान मोड़का वासिन्दा हुन्। केही वर्षअघि तिनले सालबारी हाटमा आफ्नो क्लिनिक खोलेका थिए। विभिन्न ठाउँबाट मानिसहरू उपचार गराउन त्यहाँ आउँथे। सोधपुछको क्रममा तिनले आफूलाई 20 वर्षको अनुभव रहेको ठोकुवा लगाए। तर तिनीसित डाक्टरीको कुनै प्रमाणपत्र थिएन। तैपनि तिनले प्रेसक्रिप्सन छापेर आफ्नो नामअघि डा. राखेर कारोबार चलाइरहेका थिए। विश्वास प्रधानले भने, “हाम्रो क्षेत्रमा यस्तो हुन्छ भन्ने कल्पनै गरेको थिइनँ। त्यस व्यक्तिले यति वर्ष नक्कली व्यवसाय चलायो तर कसैले थाहै पाएन। मेरो छोरीको ठूलो नोक्सान गर्योर।” पक्राउ परेका प्रह्लाद सिंहलाई सिलगढ़ी महकुमा न्यायालयमा प्रस्तुत गरियो अनि न्यायाधीशले तिनलाई कारागार पठाउने आदेश दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *