उत्तमकुमार ब्रजबासी जन्मदेखि नै दिनाहाटाको सादियालको कुठी गाउँमा बस्दै आइरहेका छन्। यस क्षेत्रका सबैजना ब्रजबासी हुन्। त्यसैले पाड़ाको नाम हो बैरागीटारी। त्यहाँका भूमिपुत्र उत्तमलाई घुसपैठ गरेको भन्दै नोटिश आएपछि गाउँलेहरू क्षुब्ध बनेका छन्। साथै गाउँका सबैजना चिन्तित छन्। उत्तमहरू यहाँ चार पुस्तादेखि बसोवास गर्दै आइरहेका त्यस गाउँका पुराना वासिन्दाहरूले बताएका छन्। तिनीहरू यस क्षेत्रको एउटा प्रतिष्ठित परिवार हो। तिनीहरूसित धेरै पोखरी र खेतीयोग्य जमीन छ। उत्तम अनि दाजु त्यसै जमीनमा कृषि कार्य गर्छन्। उत्तमका बाबा एकपटक स्वतन्त्र उम्मेद्वारको रूपमा चुनाउ खड़ा भएका थिए अनि पञ्चायतको उपप्रधान पनि बने। त्यस परिवारको एकजना छोराले असम सरकारबाट अनुप्रवेश गरेको भन्दै नोटिश पाएकोमा लगभग सबैजना छक्क परेका छन्।
गाउँका दुई वृद्धा शोभा ब्रजबासी र भवानी ब्रजबासीले भने, हामीले उत्तमलाई सानो छँदादेखि नै हाम्रो काखमा हुर्काएका हौँ। उ कहिल्यै जिल्लाबाहिर गएको छैन। कतै केही गड़बड़ छ। म तिनको हजुरबुबा र बुबालाई चिन्छु। हामीलाई थाहा छैन किन यस्तो भयो। उत्तमले भने, मैले प्रशासनसित मतदाता नामावली र पुरानो जमीनको प्रमाणित प्रतिलिपि मागेको छु। यदि मैले ती कागज पाएँ भने म तिनीहरूलाई पठाउँछु। यदि मैले ती कागजहरू नपाएन म अर्को कुन ठाउँबाट पाउने? म धेरै डराएको छु। म र मेरो परिवारले राम्ररी खान र पिउन सकिरहेका छैनौँ।
राजवंशी भाषा प्रतिष्ठानका अध्यक्ष हरिहर दास उत्तमको घरमा गए। तिनले उत्तम र तिनका छिमेकीहरूसित कुराकानी गरे। पछि तिनले पत्रकारहरूलाई भने, यो एकदमै अन्यायपूर्ण कार्य हो। उत्तमलाई अवैध भारतीयको रूपमा पहिचान गरेर असम सरकारले सबै राजवंशी मानिसहरूलाई अपमान गर्ने काम गरेको छ। यस घटनाबारे तृणमूल राज्यसभा सांसद समीरुल इस्लामले आफ्नो एक्स ह्याण्डलमा लेखेका छन्, बङ्गाली आप्रवासी कामदारहरूलाई बङ्गलादेश पठाएपछि नरेन्द्र मोदी र अमित शाहले बङ्गालका स्थायी वासिन्दाहरूलाई निष्कासन गर्न खोजिरहेका छन्। ब्रज निवासी उत्तम कहिल्यै आसाम गएका छैनन्। तिनका बाबाको नाम 1966 को मतदाता सूचीमा छ। आसाम सरकारले पश्चिम बङ्गालका राजवंशी भाइलाई यस्तो नोटिश कसरी पठाउन सक्छ? हामी यसको विरुद्ध कानूनी माध्यमबाट र सड़कमा लड्नेछौँ।”
