मण्डल कमिटीमा विवाद

आगामी वर्ष विधानसभाको चुनाउ हुनेछ। त्यसलाई ध्यानमा राख्दै भाजपा नेतृत्वले पार्टी सङ्गठनलाई दह्रो बनाउन खोजिरहेको छ। तर गुटबन्दीको कारण सिलगढ़ी साङ्गठानिक जिल्लामा सबै मण्डल अध्यक्षहरूको नाम घोषणा गर्न सकेको छैन। यस जिल्लाअन्तर्गत चोपड़ाबाहेक अन्य चारवटा विधानसभा क्षेत्र भाजपाकै नियन्त्रणमा छन्। यहाँसम्म कि सिलगढ़ीका विधायक शङ्कर घोषको आफ्नै मण्डलको अध्यक्षको नाम समेत घोषणा भएन। किन यस्तो भयो? पार्टीको एउटा समूहअनुसार, हालको जिल्ला नेतृत्व र विधायकमध्ये मतभेदको कारण यस्तो स्थिति आएको हो। तर भाजपा सिलगढ़ी साङ्गठानिक जिल्ला अध्यक्ष अरुण मण्डलले भने, 28 मध्ये 14 वटा मण्डल अध्यक्षहरूको नाम घोषणा गरिएको छ।

बाँकी पनि छिट्टै घोषणा गरिनेछ। सिलगढ़ी विधायक शङ्कर घोषको क्षेत्र 4 नम्बर मण्डलका अध्यक्ष सुशान्त बसाक थिए। सूत्र अनुसार तिनको नाम पुनः सिफारिस गरिएको थियो किनभने तिनी शङ्करका निकट थिए। तर सार्वजनिक सूचीमा शङ्करको मण्डलका लागि कुनै नाम थिएन जसले नयाँ अड़कल जन्माएको छ। कतै शङ्करलाई कमजोर पार्न तिनको निकट व्यक्ति हटाइएको त होइन? त्यस अड़कललाई अस्वीकार गर्दै शङ्करले भने, केही दिनमै बाँकी नामहरू घोषणा हुनेछ। आइतवार भाजपा नेतृत्वले राज्यभरि प्रत्येक मण्डल अध्यक्षको नाम घोषणा गर्योन। सिलगढ़ी साङ्गठानिक जिल्लामा पाँचवटा विधानसभा क्षेत्र छन् सिलगढ़ी, मतिगढ़ा-नक्सलबारी, फाँसीदेवा, डाबग्राम-फूलबारी र चोपड़ा।

यी पाँच क्षेत्रका 28 मण्डलमध्ये 14 मण्डल अध्यक्षहरूको नाम मात्र घोषणा भयो। डाबग्राम-फूलबारीमा दुई, सिलगढ़ीमा एक, मतिगढ़ा-नक्सलबारीमा तीन र फाँसीदेवामा तीन नयाँ अनुहारलाई अध्यक्ष बनाइएको छ। तर चोपड़ाका कुनै पनि मण्डल अध्यक्षको नाम घोषणा गरिएन। चोपड़ामा तृणमूलको बलियो पकड़ भएकाले भाजपा लामो समयदेखि सङ्घर्ष गरिरहेको छ जुन सबैलाई थाहा छ। तर बाँकी चारवटा क्षेत्रमा भाजपा सत्तामा हुँदाहुँदै पनि किन सबै मण्डल अध्यक्षहरूको नाम घोषणा गरिएन भन्ने प्रश्न उठिरहेको छ। यस विषयमा प्रश्न गर्दा शङ्करले भने, अहिले म अलिपुरद्वारको जिम्मामा छु त्यसैले सिलगढ़ीबारे विस्तृत जानकारी छैन। तर पार्टीका नियमअनुसार अध्यक्ष चयन गरिन्छ। केही स्थानमा प्रक्रियागत समस्याले ढिलो हुन सक्छ। बाँकी मण्डल अध्यक्षहरूको नाम पनि छिट्टै घोषणा हुनेछ। राज्य नेतृत्वले हरेक मण्डलका लागि एक-एकजना निर्वाचन अधिकारी तोकेको थियो जसले सम्बन्धित मण्डलका सबै कार्यकर्तासित छलफल गरेर अध्यक्षका लागि केही नाम सिफारिस गरेका थिए। त्यसपछि ती नाम जिल्ला तहमा छलफल गरी राज्य नेतृत्वलाई पठाइयो। तर राज्य नेतृत्वले सिलगढ़ीबाट पठाइएका सबै नामहरू स्वीकृत गरेन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *