कोशी प्रदेश सरकारले सुनसरीको देवानगञ्ज घटनामा मृत्यु भएका व्यक्तिका परिवारलाई २ लाख रुपैयाँ र आगजनीबाट घर–पसलमा क्षति पुगेका परिवार तथा घाइतेलाई ५० हजार रुपैयाँका दरले राहत उपलब्ध गराउने निर्णय गरेको छ ।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीको आह्वानमा बुधबार बसेको सर्वदलीय बैठकले राहत घोषणासँगै सामाजिक सद्भाव, शान्ति र सुरक्षा कायम गर्न आठ बुँदे निर्णय गरेको हो । बैठक साउन १० गते देवानगञ्जमा भएको घटनापछि उत्पन्न परिस्थितिबारे छलफल गर्न बोलाइएको थियो ।
निर्णयअनुसार सामाजिक सद्भाव र साम्प्रदायिक एकता कायम गर्न राजनीतिक दल, सामाजिक संघसंस्था र प्रशासनबीच समन्वयात्मक पहल गरिनेछ । स्थानीय तहमा सर्वदलीय तथा सर्वपक्षीय बैठक आयोजना गरी सद्भाव अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्ने निर्णय पनि गरिएको छ ।
सामुदायिक तहमा मेलमिलाप र सद्भाव कायम गर्न स्थानीय प्रशासनसँग समन्वय गरी सद्भाव यात्रा, सार्वजनिक अपिललगायतका कार्यक्रम सञ्चालन गरिने बैठकको निर्णयमा उल्लेख छ।
बैठकले सबै धार्मिक समुदायका संघसंस्थालाई संयुक्त अपिल जारी गरी सामाजिक सद्भाव कायम राख्न सक्रिय भूमिका खेल्न आग्रह गरेको छ । सीमावर्ती क्षेत्रबाट हुन सक्ने अवाञ्छित गतिविधिप्रति सुरक्षा निकायलाई थप सतर्क रहन तथा घाइतेको उपचार र मृतकका परिवारलाई राहत उपलब्ध गराउन संघीय सरकारसँग अनुरोध गर्ने निर्णय पनि गरिएको छ ।
यसैगरी, घटना प्रभावित जिल्ला तथा आसपासका क्षेत्रमा यस्ता घटना दोहोरिन नदिन सुरक्षा व्यवस्थापन प्रभावकारी बनाउन सम्बन्धित जिल्ला प्रशासन कार्यालयसँग आवश्यक समन्वय गर्न आग्रह गरिएको छ ।
बैठकमा मुख्यमन्त्री कार्कीले संवेदनशील परिस्थितिमा सबै पक्षले संयम अपनाउँदै सामाजिक सद्भाव कायम राख्न जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने बताए । उनले सामाजिक सद्भावमा खलल पुग्ने कुनै पनि गतिविधिमा संलग्न नहुन सबैलाई आग्रह गरे ।
You may also like
-
रोड पिक हिमपहिरो तीन नेपाली आरोहीको शव काठमाडौँ ल्याइयो
-
ग्यास अभावबारे संसद्मा सत्तारुढ दलकै सांसदको प्रश्न, शून्य समयमा कसले के भने ?
-
ग्यास अभावबारे संसद्मा सत्तारुढ दलकै सांसदको प्रश्न, शून्य समयमा कसले के भने ?
-
सरकारलाई रास्वपा सांसदको प्रश्न- ‘खाली सिलिन्डर बोकेर कहिलेसम्म लाइनमा बस्नुपर्ने हो ?’
-
सरकारी आदेशको कारण देखाउँदै काठमाडौँ विश्वविद्यालयद्वारा तिब्बतसम्बन्धी आइएटीएस सम्मेलन रद्द नेपाल सरकारको अस्वीकार
