सुनसरीको देवानगन्जमा भएको घटनापछि पनि प्रदर्शन हिंसात्मक बन्दै गएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले पूर्वपश्चिम राजमार्गअन्तर्गत कोशी ब्यारेजदेखि इटहरीको पकलीचोकसम्म कर्फ्यु आदेश जारी गरेको छ ।
सुनसरीको देवानगन्ज घटनापछि प्रदर्शनकारी र सुरक्षाकर्मीबीच तनाव चुलिँदै हिंसात्मक अवस्था सिर्जना भएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले मंगलबार अपराह्न ३ः३० बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यु आदेश जारी गरेको हो । प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालद्वारा जारी आदेशअनुसार स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम सुनसरी जिल्लाभित्र पर्ने महेन्द्र राजमार्गको दुवैतर्फ चार किलोमिटर तथा इनरुवा बजार क्षेत्रभित्र कसैलाई पनि आवतजावत गर्न, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक वा घेराउ गर्न निषेध गरिएको छ ।
प्रशासनले जारी गरेको आदेशअनुसार कर्फ्यु क्षेत्रको पूर्वी सीमा इटहरीको पकलीचोक, पश्चिममा कोशी ब्यारेजको पुल, तथा उत्तर–दक्षिणतर्फ महेन्द्र राजमार्गदेखि २०० मिटर क्षेत्र तोकिएको छ ।
देवानगन्ज घटनाको विरोधमा विभिन्न स्थानमा प्रदर्शन उग्र बनेपछि सार्वजनिक सुरक्षा, शान्ति–सुव्यवस्था र सम्भावित थप अप्रिय घटना रोक्न कर्फ्यु लागू गरिएको प्रशासनले जनाएको छ । प्रशासनले सर्वसाधारणलाई कर्फ्यु आदेशको पूर्ण पालना गर्न तथा अत्यावश्यक बाहेक घरबाहिर ननिस्कन आग्रह गरेको छ ।
आइतबार राति देवानगन्ज–३ कप्तानगन्जमा दुई समूहको झडपमा प्रहरीले चलाएको गोली लागेर देवानगन्ज–४ का ३० वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो । घटनामा गोली लागेर ९ जना गम्भीर घाइते भएका छन् भने १४ जना प्रहरी पनि घाइते भएका थिए।
घटनापछि सोमबार सुनसरीको दक्षिणी क्षेत्रमा दिनभर कर्फ्यु लगाइएको थियो। घटनाको छानबिन गर्न गृह मन्त्रालयले सहसचिवको नेतृत्वमा समिति गठन गरी अनुसन्धान सुरु गरेको छ।
You may also like
-
देवानगन्ज घटनापछि विभिन्न क्षेत्रको अपिल : अफवाहबाट टाढा रही सामाजिक सद्भाव र संयमता अपनाऔं
-
प्रदेश सरकारमा एमाले-नेकपा गठबन्धन गर्ने सहमति, पाँच प्रदेश नेतृत्व भागबन्डा टुंगियो
-
भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा
-
दुई घण्टा गाडी चढेर स्कुल पुग्छन् होल्डिङ सेन्टरका बालबालिका
-
चीन भ्रमणको तयारीमा रवि लामिछाने, राष्ट्रपति सी चिनफिङसँग भेटको प्रयास
