शोकमा चक्रघट्टा, मृतक परिवारलाई गाउँपालिकाले ५० हजार दिने

मकवानपुरको भीमफेदी गाउँपालिका–६, चिसापानीगढीमा बिहीबार बिहान भएको माइक्रोबस दुर्घटनामा एउटै वडाका १३ जनाको मृत्यु भएपछि सर्लाहीको चक्रघट्टा गाउँपालिकाले शुक्रबार शोक बिदा दिएको छ ।
गाउँपालिकाले दुर्घटनामा ज्यान गुमाएका मृतकका परिवारलाई जनही ५० हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने निर्णयसमेत गरेको छ ।
छठ पर्व मनाउन घर फर्किंदै गरेका यात्रु सवार गाडी दुर्घटनामा पर्दा चक्रघट्टा गाउँपालिका–४, सुन्दरपुरका १३ जनाको मृत्यु भएको थियो । एउटै गाउँका ठूलो संख्यामा स्थानीयको ज्यान गएपछि सुन्दरपुर शोकमा डुबेको छ । गाउँपालिकाले बिहीबार साँझ सूचना जारी गर्दै दुर्घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्नुका साथै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ ।
सोही क्रममा मृतकको अन्तिम संस्कार तथा काजकिरियामा सहयोग पुर्‍याउन पीडित परिवारलाई तत्काल जनही ५० हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरिएको गाउँपालिका अध्यक्ष कृष्णकुमार यादवले जानकारी दिए । अध्यक्ष यादवले यस दुःखद् घडीमा गाउँपालिका पीडित परिवारको साथमा रहने बताए ।
‘गाउँपालिकाको तर्फबाट होस् वा व्यक्तिगत रूपमा, यस्तो विपद्का बेला मानवीय हिसाबले पनि जनप्रतिनिधिको दायित्व हुन्छ,’ उनले भने, ‘तत्कालका लागि केही सहयोग गर्ने निर्णय गरेका छौँ । हामी पीडित परिवारको साथमै रहनेछौँ ।’
अध्यक्ष यादवका अनुसार शुक्रबार पालिकाको कार्यालय, वडा कार्यालय र स्वास्थ्य संस्थाबाहेक नियमित सेवा प्रवाह गर्ने अन्य कार्यालय, सामुदायिक तथा संस्थागत विद्यालयलगायत पालिका क्षेत्रभित्रका सम्पूर्ण सरकारी तथा गैरसरकारी कार्यालयमा एक दिनका लागि शोक बिदा दिइएको छ ।
दुर्घटनामा मृत्यु हुनेमा चक्रघट्टा गाउँपालिका–४, सुन्दरपुरका १३ जना र सर्लाहीको कविलासी गाउँपालिका–८ का ३० वर्षीय चालक रविशंकर कुमार मण्डलको ज्यान गएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *