विकासको चपेटमा शताब्दी पुराना रूखहरू

मैनागुड़ी शहरलाई बीचबाट चिर्दै मालबजारदेखि मैनागुड़ी हुँदै धूपगुड़ी जाने 717 नम्बर राष्ट्रिय राजमार्ग अघि बढ्छ। लगभग एक किलोमिटर लामो उक्त सड़क खण्डको दुवै किनारमा कम्तीमा 50 वटा विशाल रूखहरू छन्। प्रत्येक रूखको उमेर 100 वर्षभन्दा अधिक हो। त्यो सड़क खण्डलाई हेर्दा लाग्छ मानौँ एउटा हरियालीले ढाकेको वनपथ। राष्ट्रिय सड़क विस्तार गर्ने परियोजनाका क्रममा मैनागुड़ी शहरको यस्तो गौरवपूर्ण सम्पत्ति काटिने सम्भावना गहिरिँदै गएको छ। त्यसो भए हरियाली मात्र होइन सैकड़ौँ कीरा फटेङ्ग्रासितै धेरै चराहरू वासविहीन बन्नेछन्। मैनागुड़ीको नयाँ बजारदेखि बीडीओ मोड़सम्म सड़क खण्डमा शहरको कोलाहलबीच पनि शान्ति र शीतलताको छायाँमा ढाकिएको अनुभव हुन्छ। उखरमाउलो घाममा पनि यो सड़क खण्ड पूर्णत: छायाँदार बनेर वातानुकूलित जस्तो लाग्छ। सडकनजिक यी रूखहरू परदेशी चराहरूको वासस्थान हुन्। तर कति दिनसम्म? किनभने चाल्सा–मैनागुड़ी बीडीओ अफिस मोड़सम्म 37 किलोमिटर सड़क खण्ड चौड़ा गर्ने विस्तृत परियोजना प्रतिवेदन तयार गर्ने काम अन्तिम चरणमा पुगेको छ।
यी विशाल रूखका हाँगाले बाटोलाई ढाकेका छन्। सड़क दुबै किनारमा बाक्लो बस्ती छ। ती बस्तीहरू शान्तिको गुँड़मा बसे जस्तै छन्। यसै बाटोनजिक रेखा रायको घर छ। नगरपालिकाको 16 नम्बर वार्डकी वासिन्दा रेखा रूखप्रति निकै भावुक छिन्। तिनले भनिन्, म लगभग 70 वर्षकी भएँ। सानैदेखि यी रूख हेर्दै आएकी हुँ। सड़क विस्तारका क्रममा यी रूख काट्न सक्छ भन्ने सुनेर निकै पीड़ा भयो। अर्की वासिन्दा खुकु राय दास भन्छिन्, यी रूखहरूलाई सम्पदा मान्यता मिल्नै पर्छ। रूखलाई बचाउँदै विकासको काम गर्नुपर्छ भन्ने अधिकारीहरूलाई नम्र आग्रह छ। यहाँ असङ्ख्य चरा बसोवास गर्छन्। यस्तै माग अरू धेरैले पनि राखेका छन्। मैनागुड़ी रोड वातावरणप्रेमी सङ्गठनका सचिव नन्दु रायले भने, यदि यी रूख काटिए चराहरूको वासस्थान नष्ट हुन्छ। त्यहाँ हजारौँ चराका बच्चा छन्। वातावरणलाई पनि ठूलो क्षति पुग्छ। रूख काट्ने विकल्प खोजेर मात्र विकास कार्य गर्नुपर्छ। मैनागुड़ी नागरिक चेतना सङ्गठनका सचिव अपु राउतले भने, एउटा रूख भनेको अहिले दशवटा प्राण जस्तै हो। शहरमा त धेर रूख नरहेको अवस्था छ। नयाँ रोपिएका रूख पनि ठूलो हुन सकेका छैनन्।
यस विषयमा राष्ट्रिय सड़क प्राधिकरण जलपाइगढ़ी जिल्ला प्रशासन र मैनागुड़ी नगरपालिकाबीच छलफल भइसकेको छ। सड़कको माप गर्ने कार्य पनि अन्तिम चरणमा छ। यस विषयमा राष्ट्रिय सड़क प्राधिकरणसित फेरि छलफल गरिने नगरपालिकाका उपाध्यक्ष मनोज रायले आश्वासन दिएका छन्। तर के त्यो छलफलले केही परिणाम ल्याउने हो? उत्तर बङ्गालका शोधकर्ता तथा इतिहासकार गौतम गुहरायले भने, यी रूखहरू सय वर्षभन्दा पुराना हुन्। अरू कतै यसरी रूखले ढाकिएको बाटो छ कि छैन, मलाई थाहा छैन। के यी रूख कुनै पनि तरिकाले जोगाउन सकिँदैन? यो प्रश्न त मैनागुड़ीका सबैको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *