राति परेपछि सीमा क्षेत्रको गाउँ-गाउँमा सीमा सुरक्षा बल (बीएसएफ) का वाहनहरू प्रवेश गर्न थाल्छन्। वाहनबाट अफिसरहरू ओर्लन्छन्। तिनीहरूको हात हातमा किताब र कलम हुन्छ। त्यसपछि गाउँको मैदानमा तिरपाल ओछ्याएर विद्यालय आरम्भ हुन्छ। छेउछाउका दुई-तीनवटा गाउँका विद्यार्थीहरूलाई बीएसएफका अफिसरहरूले पढ़ाउन थाल्छन्। जलपाइगढ़ी शहरको छेवैमा रहेको भारत-बङ्गलादेश सीमाको बेरुबारीको खेकिरडाङ्गा गाउँमा साप्ताहिक तीनदेखि चार दिन अहिले जाड़ोको साँझमा बीएसएफले यस्तो विद्यालय चलाइरहेको छ।यी सबै गाउँहरू काँड़े तारको सीमादेखि पारि छन्। एकतर्फ मुख्य भारतको भूभागमा काँड़े तारको घेरो छ भने अर्कातिर खुल्ला बङ्गलादेश छ। बीचमा केही भारतीय गाउँहरू छन्। बङ्गलादेशमा सत्ता परिवर्तनपछि जलपाइगढ़ीको यस खुल्ला सीमा क्षेत्रमा सैकड़ौँ बङ्गलादेशी नागरिक भेला भएका छन्। हालै खुलेको सीमाबाट नै बङ्गलादेशी बदमाशहरूले बीएसएफमाथि आक्रमण गरेका थिए। हठात सीमा क्षेत्रमा राति बीएसएफले किन यसरी विद्यालय आरम्भ गर्यो ? यद्यपि सीमा पारिका विद्यार्थीहरूलाई कपी, कलम र किताब वितरणसितै जनकल्याणका काम पूरै वर्ष चल्दै आइरहेको बीएसएफको दाबी छ।
गत अगस्तमा बङ्गलादेशमा सत्ता परिवर्तन भएको थियो। पूजापछि बङ्गलादेशमा भारत विरोधी भावना तीव्र भएको छ। हालै बङ्गलादेशमा धार्मिक अल्पसङ्ख्यकहरूमाथि उत्पीड़नका घटनाहरू भए। त्यसको पृष्ठभूमिमा बीएसएफले एक हप्तादेखि खुल्ला रहेको सीमा पारिका गाउँहरूमा गएर पढ़ाउन आरम्भ गरेको हो। साधारण जवानहरू होइन बीएसएफका सीमा चौकीका जिम्मावार अफिसर मनोज कुमार आफै गएर खेकिरडाङ्गा गाउँ र कालिन्दीपाड़ामा अङ्ग्रेजी पढ़ाइरहेका छन्। नवौँ कक्षादेखि 12 कक्षासम्म विद्यार्थीहरूलाई पढ़ाइन्छ। कालिन्दीपाड़ाका गाउँमा विद्यार्थीहरूबीच बीएसएफका विद्यालय काकाको स्कूल नामले परिचित छ।
अचानक यस्तो पहलको पछाड़ि जनसंयोग र खुल्ला सीमाको निगरानी रणनीति रहेको दाबी गरिएको छ। सामान्यतः साँझको साढ़े छ बजीपछि काँड़े तारको गेट बन्द हुन्छ र त्यसपछि बङ्गलादेशतिर रहेका भारतीय गाउँहरूसँग सम्पर्क विच्छेद हुन्छ। यस्तो अवसरमा तस्करी र अवैध घुसपैठका घटनाहरू बढ्ने आशङ्का गरिएको छ। वर्तमान अवस्थामा आतङ्कवादीहरूको प्रवेश पनि असम्भव नरहेको गुप्तचर निकायहरूले अनुमान गरेका छन्। यस्तो अवस्थामा राति बीएसएफ अफिसरहरू गाउँमा लामो समयसम्म बस्दा सुरक्षा जसरी दह्रो हुन्छ त्यसरी जनसंयोग पनि दह्रो हुनेछ।खेकिरडाङ्गा गाउँका तृणमूल पञ्चायत सदस्य सामुएल हकले भने, बीएसएफका कमाण्डर आफै नानीहरूलाई पढ़ाउन आएका छन्। यदि केटीहरूले अलग्गै पढ्न चाहन्छन् भने महिला बीएसएफलाई पनि पढ़ाउन पठाउने तिनले भनेका छन्। नानीहरूलाई राम्रो भइरहेको छ। पहिले एक-दुई कक्षा मात्र हुन्थे तर अहिले कक्षाहरूको सङ्ख्या बढ़ेको छ। बङ्गलादेशमा अस्थिरतापछि जलपाइगढ़ीको सीमास्थित गाउँ-गाउँमा सन्देहजनक वा अज्ञात व्यक्तिहरू देखिए जानकारी दिने बीएसएफले आग्रह गर्दै आएको छ। बीएसएफ सूत्रअनुसार, जनसंयोग राम्रो भए खबर छिटो प्राप्त हुन्छ। पढ़ाइमा सहयोग गर्दा बाबु-आमा पनि खुशी हुन्छन्। यद्यपि बीएसएफका अर्का एकजना अफिसरले भने, गाउँका साना नानीहरूसित सबैभन्दा राम्रो खबर हुन्छ। तिनीहरू गाउँमा जता मर्जी त्यतै जान्छन्। सबै कुरा हेरिरहेका हुन्छन्। सबैका कुरा सुनेका हुन्छन्। कुराकानीमा तिनीहरूले सबै कुरा बताउँछन्।