एजेन्सी: नवलपुरको दुम्किबासको विनयी खोलामा डाइभर्सन बगाएपछि पूर्वपश्चिम राजमार्ग आज बिहानबाट अवरुद्ध बनेको छ । अहिले बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
वैकल्पिक मार्गको रूपमा सञ्चालन गरिएको विनयी त्रिवेणी ३ स्थित खरङ्गे खोलामा वर्षातको कारण पानीको बहाव बढ्न गई सडक अवरुद्ध भएको हो ।
खोलामा पानीको बहाव बढेपछि खरङ्गे खोलामा कुनै पनि सवारी साधन पास हुन नसकेको हो । पूर्वपश्चिम राजमार्गको नारायणगढ बुटवल सडक खण्ड पछिल्लो १५ दिनयता राम्ररी सञ्चालनमा आउन सकेको छैन ।
दैनिक जसो सडक अवरुद्ध हुने गरेको छ । दुम्किबासको विनयी खोलामा बनाएको डाइभर्सन पनि बगाएपछि समस्या आइरहेको छ ।
पाल्पा लगायत नवलपुरका पहाडी क्षेत्रमा पानी पर्नासाथ दुम्किबासको विनयी खोला र त्यसका आसपासका सहायक नदीहरूमा पानीको बहाव बढ्ने त्यहाँस्थित पत्रकार रामकुमार श्रेष्ठले जनाए ।