एजेन्सी: पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सुशीला कार्की नेतृत्वको सरकार कसैको दयामायाले नभई जेनजी विद्रोहको बलमा बसेको बताएका छन्।
कार्की नेतृत्वको सरकारमाथि दलहरूले असंवैधानिक ढङ्गले बनेको भन्दै प्रश्न उठाइरहेको बेलामा भट्टराईले यो सरकार ऐतिहासिक आवश्यकताले गठन भएको बताएका हुन्।
विगतका आन्दोलनका गल्ती कमजोरीबाट सिक्दै जेनजी विद्रोहलाई परिवर्तनकारी ध्येयसम्म पुर्याउनका लागि ४ सुझाव दिएका छन्।
१. अंग्रेजीमा एउटा प्रसिद्ध भनाइ छः सफलताका सयजना पिता हुन्छन्; असफलता टुहुरो हुन्छ।’ नेपालीमा पनि एउटा त्यस्तै भनाइ छ’ माछा देखे भित्र हात, सर्प देखे बाहिर हात!’
अझैसम्म यो विद्रोहको परिणाम के हुन्छ भन्ने चित्र प्रस्ट भैसकेको छैन। तैपनि अहिले खास गरी जेनजीका वास्तविक प्रतिनिधि को हुन्? यसमा को कसको के के भूमिका रह्यो? आदिवारे केही अन्योल जस्तो देखिनु विडम्बनापूर्ण छ। यसबारे अन्तरिम सरकार प्रस्ट रहनुपर्छ।
भदौ २३ गते जेनजी आन्दोलन सुरु हुँदा जसले औपचारिक रूपमा पहल गरेका र सडकमा नेतृत्व गरेका थिए तिनलाई नै मुख्य प्रतिनिधि मान्ने र जसले पछि सहयोग गरे तिनलाई सहयोगी मान्ने कुरा नै सही हुन्छ। पछि घुसपैठ गरेर प्रतिगामी नारा लगाउने र गलत हर्कत गर्नेहरूलाई यथोचित व्यवहार गर्नु उचित हुन्छ।
साथै अर्को गम्भीर कुरा, पटक पटक सत्तामा रहेर जसका गलत हर्कतले यो युवा विद्रोह सिर्जना ग¥यो वा जसले अहिलेको आन्दोलनमा पनि घुसपैठ गरेर÷गराएर सार्वजनिक सम्पत्ति नष्ट गराए तिनैमध्ये कोही साखुल्ले बनेर अहिले गोहीको आँसु झार्दैअघि आउँछन् भने तीबाट पनि सतर्क रहनैपर्छ।
२. अहिलेको अन्तरिम सरकार कसैको दयामाया र कृपाले नभै जेनजी विद्रोहको बलमा र ऐतिहासिक आवश्यकताले गठन भएको हुँदा यसले भित्रीबाहिरी कुनै शक्तिको डरत्रास नमानी आफ्नो निष्ठा आन्दोलनकारीप्रति रहेकोमा प्रस्ट हुँदै प्राप्त कार्यादेश पूरा गर्नेतर्फ दत्तचित्त भएर लाग्नुपर्छ। सत्कर्मको जस इतिहासले अवश्य दिन्छ भन्ने कुरामा ढुक्क रहनुपर्छ।
३. मुख्य कार्यकारी अङ्ग अन्तरिम सरकार बाहेक राज्यका अरू स्थायी अंगहरू (कर्मचारीतन्त्र, न्यायालय, सुरक्षा अंगहरू, संवैधानिक आयोगहरू आदि) र प्रदेश र स्थानीय सरकारहरूले पनि आफूलाई यो बदलिएको परिवेशमा जेनजी विद्रोहको दूरगामी महत्त्व र असरलाई आत्मसात् गर्दै कुनै किन्तुपरन्तु नगरी सहयोग गर्नुपर्छ। कथंकदाचित चित्त नबुझे पदत्याग गरेर मार्ग प्रशस्त गर्नु उचित हुन्छ तर असहयोग र अन्तरध्वंश गर्नु हुँदैन।
४. लोकतन्त्रमा अर्को महत्त्वपूर्ण तर ओझेलमा पर्दै आएको विषय, विशाल गैर–राज्य क्षेत्रका उद्यमी–व्यवसायी, सार्वजनिक बौद्धिक र आम नागरिकहरूले पनि सचेतनापूर्वक यो अन्तरिम कालमा आफ्नो दायित्व जिम्मेवारीपूर्वक र सक्रियतासाथ निर्वाह गर्नुपर्छ।