काठमाडौँमा नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन सुरु भएको छ । सम्मेलनको उद्घाटन नेपाली भाषाका महासमालोचक प्राडा वासुदेव त्रिपाठीले शङ्खघन्टध्वनिका गरेका छन् । त्यस अवसरमा त्रिपाठीले नरेन्द्रराज प्रसाई तथा इन्दिरा प्रसाईको सम्पादनमा नइ एकेडेमीद्वारा प्रकाशित ‘नेपाली भाषासाहित्यको विकासमा नेपाल तथा भारतका विश्वविद्यालयको भूमिका’ नामक बृहत् ग्रन्थको लोकार्पण गरे । डा। त्रिपाठीले नइबाट आफ्नै आन्तरिक साधनस्रोतमा आयोजित ऐतिहासिक तीनदिने महान् सम्मेलनमा नै प्रकाशित उच्च प्राज्ञिक खोजपूर्ण बृहत् ग्रन्थसमेत प्रस्तुत हुनु अविस्मरणीय र ऐतिहासिक मात्र नभएर सुनमा सुगन्धको योगजस्तो हुन पुगेको बताए। सो ग्रन्थमा नेपाल तथा भारतका विश्वविद्यालयबारेका २५ ओटा आलेख छ । नेपाल र भारतका विश्वविद्यालयहरूमा नेपाली विषयको प्राध्यापन र अनुसन्धान कार्यमा संलग्न साधकहरूबाट नेपाली विषयको पठनपाठनको इतिहास, तिनका पाठ्यक्रम तथा अनुसन्धानको अद्यावधिक इतिवृत्त यस ग्रन्थमा समेटिएको छ।
सम्मेलनमा नइ एकेडेमी र नेपालका विश्वविद्यालयका दस्ताबेजबारे डा. त्रिभुवन बरई र नेपाल तथा भारतका विश्वविद्यालयका कार्यपत्रबारे डा. अम्बिका अर्यालले मन्तव्य प्रकट गरेकी थिइन्।
