मुख्यमन्त्री ममता ब्यानर्जीले प्रत्येक दिन प्राइम टाइममा कम्तीमा एउटा बङ्गला चलचित्र देखाउनुपर्ने सबै सिनेमा घरहरूलाई निर्देशन जारी गरेकी छन्। नवान्नबाट यस्तो निर्देशन आएपछि विपक्षीहरूले त्यसमाथि प्रहार गरेका छन्। सुकनाका भाजपा नेता अजय शर्माले विज्ञप्ति जारी गर्दै भनेका छन्, यो केवल चलचित्रको विषय होइन यो त हाम्रो मातृभाषा र सांस्कृतिक स्वतन्त्रतामा हस्तक्षेप हो। हाम्रो मातृभाषा नेपाली हो, हाम्रो पहिचान नेपाली हो। हाम्रो गीत, कथा, लय र इतिहास नेपालीमा बाँच्दछ। यो हाम्रो आत्मा हो जसमा कुनै मोलभाउ मान्य छैन। यो आदेश जीटीए क्षेत्र वा पहाड़मा लागू गर्ने प्रयास भए जनता सड़कमा उत्रेर प्रतिवाद गर्नेछ।
त्यसरी नै आईजीजेएफका अध्यक्ष अजय एडवर्ड्सले पनि यस निर्णयको विरोध गरेका छन्।
तिनले दार्जीलिङ पहाड़ अनि कालेबुङ सांस्कृतिक, भाषिक अनि ऐतिहासिक हिसाबले फरक रहेको बताउँदै यहाँको बहुसङ्ख्यकको भाषा नेपाली भएको हुँदा प्राइम टाइममा बङ्गला चलचित्र जबर्जस्ती प्रदर्शन गर्नु जबरजस्ती संस्कृति थोप्ने कार्य हुने बताएका छन्।
विभिन्न प्रकारले विरोध चुलिएपछि जीटीए कार्यपाल अनित थापाले मुख्यमन्त्रीलाई पत्र लेखेका छन्। पत्रमा अनित थापाले सिनेमा नीतिमा क्षेत्रीय नेपाली भाषाका चलचित्र समावेशको अनुरोध गरेका छन्। पत्रमा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन (जीटीए) क्षेत्रमा नेपालीभाषी समुदायको सांस्कृतिक पहिचान अनि समृद्धिका लागि सिनेमा घरहरूमा अनिवार्य रूपलेमा नेपाली भाषाका चलचित्र प्रदर्शन गराउने व्यवस्थाको माग गरेका छन्। यदि मौलिक र स्थानीय चलचित्र संस्कृतिको संरक्षण र समुचित प्रतिनिधित्व नभए क्षेत्रीय सिनेमा नीति अपूरो रहने साथै जीटीए क्षेत्रका आवाज र कथाहरू पनि विलुप्त हुने तिनले तर्क दिएका छन्। भाषिक र सांस्कृतिक पहिचानलाई राज्य स्तरीय नीति तथा कार्यान्वयनमा उचित स्थान दिन तिनले मुख्यमन्त्रीसमक्ष आह्वान गरेका छन्।
