नाटकको माध्यमबाट दुर्व्यसन नियन्त्रण गर्ने प्रयास


एजेन्सी: ढाका टोपी दौरा सुरवालमा इस्टकोट ढल्काउँदै झुस्स सेतै दारी फुलेका सुरवीर पण्डित ९दारी बा० तमाखु तान्न थाल्छन् । आफ्नै बाको सिको गर्दै सौगात ओझालाई पनि रक्सीको लत लागिसक्छ । सौगातको दिनचर्या हेरेरै उनका छोरा सन्तोष लागू पदार्थ दुर्व्यसनीमा फस्छ ।

सुरेन्द्र सङ्गमका छोरा राम्रो परिवारमा हुर्किएको हुन्छ । पढाइ राम्रै हुन्छ । तर, जबबाट सन्तोषसँग उनको भेट हुन्छ दुवै त्यो लतमा लाग्छन् । एकदिन लागू औषध कारोबारीसँगको विवादमा झगडा हुन्छ । एउटा साथी मारिन्छ, अर्को जेल जान्छ ।

माथि उल्लेखित घटना वास्तविक भने होइन तर वास्तविक भन्दा कम छैन । पछिल्लो समय हाम्रो समाजमा यस्तै घटनाहरू घटिरहेका छन् । लागू औषधका कारण परिवारमात्रै होइन अहिले समाजमा नै विकराल समस्या पैदा भएको छ । हाम्रो समाजमा घटेका जस्तै घटना कैलालीको घोडाघोडीमा सडक नाटक मार्फत प्रस्ट देखाइएको छ ।

कलाकार सौगात ओझाद्वारा परिकल्पनामा ‘सङ्गतको फल’ नामक नाटक प्रदर्शन गर्दा दर्शकहरू भावविहोल मात्रै भएनन् गहिरो र गम्भीर सन्देश बोकेर फर्किए ।

दारी बा, सौगात ओझा र अछामी रेखा हुँदै दीर्घ शाहीसम्मले दिएको सन्देशले लागू औषधका कारण समाजमा भइरहेको अशान्तिलाई प्रस्ट देखाएको थियो ।

प्रहरीको भूमिकामा रहेका कलाकार दीर्घ शाही लागू औषध प्रयोग गर्दा, ओसार पसार गर्दा र कारोबार गर्दा हुने कानुनी कारबाहीको बारेमा जानकारी गराएका थिए ।

लागु औषध दुर्व्यसनले पारिवारिक कलह, स्वास्थ्यमा असर, सम्पत्तिको हानि, समाजमा आपराधिक कार्य बढाउँदै गएको नाटकमा देखाइएको थियो । लागु औषध दुर्व्यसनमा साना बालबालिकादेखि युवा, वयस्कसमेत फस्दै गएकाले यसतर्फ साथी सङ्गतबाट देखासिकी नगर्न सचेत बन्न नाटकले सन्देश दिएको थियो ।

हास्य कलाकार दीपेन्द्र ओलीको विशेष पहलमा नाटकको आयोजना गरिएको हो ।

मेरै उमेरका युवाहरू लागू औषधमा फसेर समस्या भइरहेको छ मैले नै त्यो अन्त गर्न चेतना मूलक कार्यक्रम आयोजना गरेको हुँ उनले भने कलाकार भएपनि कमाउने र रमाउने मात्रै होइन समाजलाई सचेत पनि बनाउनु पर्छ भनेर यो कार्यक्रम आयोजना गरिएको थियो ।

लागू औषध नियन्त्रण र सचेतनाको लागि विशेष संस्कृति कार्यक्रम नै आयोजना गरिएको थियो । नृत तथा गीतहरूमार्फत पनि जनचेतना जगाइएको थियो तर, कार्यक्रमको केन्द्रबिन्दु ‘सङ्गतको फल’ बन्यो ।

नाटकमा टेक बिसी, कृष्ण जोशी, सुरेन्द्र सङ्गम, विक्रम चौधरी, दुर्गा पाण्डे, प्रकाश न्यौपाने, मुना अर्याललगायत कलाकारले गरेको भूमिका दर्शकहरूलाई नाटक भन्दा पनि आँखा अगाडी सत्य घटना देखेको जस्तो लागिरहेको थियो ।

अम्बिका आचार्यको सभा अध्यक्षतामा भएको नाटक प्रदर्शन कार्यक्रममा राष्ट्रिय दलित आयोगका सदस्य मिना सोव, घोडाघोडी नगरपालिकाका नगरप्रमुख खडकबहादुर रावत लगायतको उपस्थिति रहेको थियो ।

नगरप्रमुख खडकबहादुर रावतले घोडाघोडीमा मात्र नभएर देशभर लागु औषध दुर्व्यसन बढ्दै गएको अवस्थामा राष्ट्रिय कलाकारद्वारा मञ्चन गरिएको जनचेतनामूलक नाटक प्रदर्शनले सचेतना फैलाउने बताए । ‘ लागु औषध दुर्व्यसनले परिवार, समाज र राष्ट्रलाई नै आघात परेको अवस्थामा जनचेतनामूलक नाटकले सचेतना फैलाउनेमा विश्वास व्यक्त गरेको छु’ उनले भनेका थिए ।

आयोगका सदस्य मिनादेवी सोवले राष्ट्रिय कलाकारले प्रदर्शन गरेको नाटकले समाजलाई ऐना देखाउने काम गरेको बताइन् । उनले लागु औषध दुर्व्यसनमा कोही पनि नफस्न परिवार, व्यक्ति स्वयम् सजग भई राम्रो साथसङ्गत गर्नुपर्ने सुझाव दिएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *