उद्धार तथा राहतका लागि एडीबीले ५० लाख अमेरिकी डलर अनुदान दिने

एशियाली विकास बैंक (एडीबी)ले रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीद्वारा प्रभावितहरूको उद्धार तथा राहतका लागि ५० लाख अमेरिकी डलरको आपत्कालीन अनुदान स्वीकृत गरेको छ ।
यो ५० लाख डलरको अनुदान पूरा गरिएको प्रतिबद्धता भएको एडीबीका अध्यक्ष मासातो कान्दाले बताइन् ।
‘हाम्रा सदस्य राष्ट्रका जनतालाई हाम्रो आवश्यकता पर्दा हामी उनीहरूको साथमा हुनेछौँ । यी नदी किनारका परिवारहरूले आफ्ना प्रियजन, घर तथा समुदायलाई आवश्यक पर्ने आधारभूत सेवाहरू गुमाएका छन् । सहयोगका लागि पर्खन सकिँदैन । क्षति विनाशकारी छ र यसको पूर्ण विवरण अझै संकलन भइरहेको छ । तर यो सहयोगले अहिले आवश्यक परेका मानिससम्म खाद्यान्न, सुरक्षित खानेपानी, आश्रय, औषधि तथा अन्य अत्यावश्यक सहायता पुर्‍याउन मद्दत गर्नेछ । विपद् पर्दा एडीबी तत्काल परिचालित हुन्छ’, उनले भनिन् ।
एडीबीको एसिया प्रशान्त विपद् प्रतिकार्य कोषमार्फत वित्तपोषित उक्त अनुदानले खोज तथा उद्धार उपकरण, चिकित्सा सामग्री, खाद्यान्न, सुरक्षित खानेपानी, अस्थायी आवास, सरसफाइ तथा स्वच्छतासम्बन्धी सामग्री, लेदो तथा भग्नावशेष हटाउने कार्य, आपत्कालीन स्थिरीकरणलगायत सहयोगका लागि खर्च गर्ने गरी सहयोग गर्दै आएको छ ।
एडीबीले नेपाल सरकार, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, संयुक्त राष्ट्रसंघीय निकाय तथा विकास साझेदारहरूसँग नजिकबाट समन्वय गरी परिवर्तित अवस्थाको मूल्यांकन र नेपालको प्रतिकार्य तथा पुनर्लाभका प्रयासलाई सहयोग गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *